आईपीएल : पञ्जावको ५४ रनको जित, बैंग्लोरको प्लेअफ यात्रा कठिन

रोयल च्यालेन्जर्स बैंग्लोरको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा प्लेअफ यात्रा कठिन बनेको छ। शुक्रबार राति पञ्जाव किंग्ससँग ५४ रनले पराजित भएसँगै बैंग्लोरले सहजै प्लेअफमा पुग्ने अवसर गुमाएको छ।

जितको लागि २ सय १० रनको विशाल विजयी लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। बैंग्लोरका ग्लेन म्याक्सवेलले सर्वाधिक ३५ रन बनाए। उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

राजत पाटिदर २६, विराट कोहली २०, दीनेश कार्तिक, हर्षल पटेल ११–११, फाफ डु प्लेसिस १० र महिपाल लोमर ६ रनमा आउट भए।

पञ्जावका कागिसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए। ऋषि धवन र राहुल चाहरले २–२ विकेट लिए। हरप्रीत ब्रार र अर्शदीप सिंहको नाममा १–१ विकेट रह्यो।

त्यसअघि ब्रेबोन स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँँदै २ सय ९ रन बनायो। पञ्जावका लियाम लिभिङस्टोनले ४२ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७० रनको योगदान दिए। 

यता, जोनी बेयरस्टोले ६६ रनको विष्फोटक इनिङ्स खेले। खेलको प्लेअर अफ द म्याच घोषित भएका उनले २९ बलमा ४ चौका र ७ छक्का प्रहार गरे।

ओपनर शिखर धवन र बेयरस्टोले पहिलो विकेटका लागि पाँच ओभरमा ६० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। धवनले १५ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए।

 मयंक अग्रवाल १९, हरप्रीत ब्रार, ऋषि धवन ७–७ रजितिश शर्मा ९ रनमा आउट भए।

बैंग्लोरका हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। वानिन्दु हसरंगाले२ विकेट लिए। ग्लेन म्याक्सवेल र शहबाज अहमदको नाममा १–१ विकेट लिए।

बैंग्लोर १३ खेलमा ७ जित र ६ हारसहित १४ अंकका साथ चौथो स्थानमा छ। बैंग्लोरले अन्तिम खेल शीर्षस्थानको गुजरात टाइटन्ससँग १९ मे मा प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जितेको खण्डमा १६ अंक हुनेछ। बैंग्लोर अन्तिम खेलमा पराजित भएमा प्लेअफ दौडबाट बाहिरिने सम्भावना उच्च देखिन्छ। जितले मात्र पुग्दैन अन्य टोलीको प्रदर्शन र नजितामा बढी निर्भर रहनुपर्ने हुन्छ।

समान १२ खेल खेलेको गुजरातको १८ अंक र लखनऊ सुपर जायन्ट्सको १६ अंक छ। गुजरात प्लेअफमा पुग्ने पहिलो टोली हो। बैंग्लोरको हारले पञ्जाव, हैदराबाद र दिल्लीको सम्भावना पनि त्यतिनै बनेको छ। अब पञ्जाव, दिल्ली, बैंग्लोर र हैदराबाद सबै १६ अंकका साथ प्लेअफमा पुग्ने दौडमा छन्। राजस्थानलाई १८ अंक र लखनऊलाई २० अंकका साथ अन्तिम दुईमा रहँदै प्लेअफ खेल्ने अवसर छ।

प्रतिक्रिया