सबैभन्दा महंगोमा बिक्यो ‘मर्लिन मुनरो’को पेन्टिङ

काठमाडौं– अमेरिकी अभिनेत्री मर्लिन मुनरोको चित्र रहेको ‘शट सेज ब्लू मर्लिन’ नामक चित्रकला २०औं शताब्दीको सबैभन्दा महंगोमा बिकेको छ। चित्रकार एन्डी वारहोलले बनाएको उक्त पेन्टिङ न्यूयोर्कको एक लिलामीमा १९५ मिलियन अमेरिकी डलरमा बिकेको हो। 

चित्रकार एन्डी वारहोलले उक्त चित्रकला अभिनेत्री मर्लिन मुनरोको निधनको दुई वर्षपछि १९६४ मा बनाएका थिए। अभिनेत्रीको निधनको दुई वर्षपछि बनाइएको उक्त पेन्टिङ न्यूयोर्कको मैनहट्टनस्थित कला केन्द्र ‘क्रिस्टी हेडक्वार्टर’मा चार मिनेटमै लिलाम भएको छ।

चित्रकार वारहालले उक्त पेन्टिङको बिक्रीबाट भएको आम्दानी अनाथ बच्चाहरुको सहयोगका लागि खर्च गर्ने बताएका छन्। उनले भनेअनुसार यो रकम अनाथ बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोगको रुपमा खर्च गरिनेछ।

क्रिस्टी कला केन्द्रका अनुसार यो पहिलो चित्रकला हो, जसको मूल्य २०० मिलियन अमेरिकी डलर हुने अनुमान गरिएको थियो। तर, त्योभन्दा केही कम भई १९५ मिलियन अमेरिकी डलरमा बिकेको चित्रकला २०औं शताब्दीको सबैभन्दा महंगो चित्रकला बनेको छ।

यसअघि चित्रकार पाब्लो पिकासोको चित्रकला ‘वूमन अफ अलजीयर्स’ १७९.४ मिलियन अमेरिकी डलरमा बिकेको थियो।

चित्रकलामा भएकी मर्लिन मुनरो चर्चित अमेरिकी अभिनेत्री तथा मोडल हुन्। उनको निधन १९६२ मा लागुऔषधको अत्यधिक प्रयोगका कारण भएको बताइएपनि हालसम्म त्यो रहस्यपूर्ण छ।

प्रतिक्रिया