फिल्मका दृश्यका कारण ‘जय भीम’ अभिनेता सूर्या विवादमा

काठमाडौं– गत वर्ष निकै चर्चामा आएको फिल्म ‘जय भीम’का अभिनेता सूर्या विवादमा फसेका छन्। 

दक्षिण भारतीय सुपरस्टार सूर्या, उनकी पत्नी ज्योतिका र ‘जय भीम’ फिल्मका निर्देशक टीजे ज्ञानबेलविरुद्ध भारतको सैदापेट अदालतले चेन्नई प्रहरीमा एफआईआर दर्ता गर्न आदेश दिएको छ।

रुद्र वन्नियार सेना नामको एक समूहले सूर्या, ज्योतिका र टीजेविरुद्ध अदालतमा उजुरी दर्ता गराएका थिए। उक्त उजुरीमा फिल्ममा कैयौं दृश्यहरु वन्नियार समूदायलाई बदनाम गर्ने किसिमको भएको बताइएको छ। जसअनुसार अदालतले उनीहरुविरुद्ध चेन्नई प्रहरीलाई मुद्दा दर्ता गर्न आदेश दिएको छ।

वन्नियार समुदायले फिल्म प्रदर्शनको समयमा पनि यसमाथि प्रतिबन्ध लगाउन माग गरेको थियो। फिल्ममा उक्त समूदायलाई लिएर आपत्तिजनक दृश्यहरु भएको बताउँदै उनीहरुले फिल्ममाथि रोक लगाउन माग गरेका थिए। अहिले उजुरी दिँदै उनीहरुले फिल्मको निर्माण पक्षसँग ५ करोड भारतीय रुपैयाँको जरिवाना मागेका छन्।

गत वर्ष नोमेम्बर २ मा प्रदर्शनमा आएको फिल्म ‘जय भीम’ अमेजोन प्राइममा प्रदर्शन भएको थियो। फिल्ममा भारतको आदिवासी समुदाय इरुलरमाथि प्रहरी हिरासतमा भएको यातनाको विषयलाई समेटिएको थियो।

प्रतिक्रिया