राजा महेन्द्रका ड्राइभरका छोरा कीर्तिपुरमा वडा अध्यक्ष लड्दै

काठमाडौं। गत चैतमा कीर्तिपुर नगरपालिका वडा नम्बर–४ मा एउटा बृहत भेलाको आयोजना भएको थियो। करिब ५ सय स्थानीय व्यक्ति सम्मिलित त्यो भेलाले आउँदो स्थानीय निकायको चुनावमा त्यही उपस्थित एक व्यक्तिलाई वडा अध्यक्ष उठाउने सामुहिक निर्णय गर्यो, त्यो पनि कुनै राजनीतिक पार्टीको झण्डा नबोकाई स्वतन्त्र उम्मेदवारको हैसियतमा। 

ती व्यक्ति हुन्, श्याम कुमार अधिकारी। अर्थात् लामो समय कीर्तिपुरको प्रधानमपञ्च भइसकेका लाल बहादुर अधिकारीका नाति। राजा महेन्द्रको पालामा २०२२ सालमा श्याम कुमारका हजुरबुवा कीर्तिपुरको प्रधानपञ्च नियुक्त भएका थिए। उनी २०३७ सालसम्म यहाँको प्रधानपञ्च हुँदा बेदाग आफ्नो पदबाट बाहिरिएका थिए। यस अवधिमा लाल बहादुुरले २०२२ सालमा नापी हुँदा स्थानीयवासीलाई कानुनी रूपमा जग्गा उपलब्ध गराउन ठूलो भूमिका निर्वाह गरे। 

सबै कुरा आफ्नो हातमा हुँदा पनि लाल बहादुरले न कुनै सार्वजनिक जग्गा हडपे, न बढी जग्गा नै नापेर आफ्नो परिवारको नाममा राखे। उनले कसैलाई दुःख दिएनन्। 

यसै कारण चैतमा वडा नम्बर–४ का स्थानीयवासी भेला हुँदा लाल बहादुरका तिनै नाति श्याम कुमारलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको हो। श्याम कुमारको आफ्नै परिचय पनि छ, यो क्षेत्रमा। उनी युवा उद्यमी हुन्। देश–विदेशमा बसेर काम गरेको लामो अनुभव छ, उनीसँग। 

२०५० सालमा नेपाल आर्मीका जागिरे श्यामले ८ वर्ष फौजमा काम गरेपछि वैदेशिक रोजगारीको बाटो अँगाले। उनले २०५७ देखि २०६५ सालसम्म संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा दुबई पुलिसमा नोकरी गरे। अहिले उनी सेवा कार्यमै सक्रिय छन्। उनले मेगा अस्पताल र नर्सिङ कलेज पनि सञ्चालन गरेका छन्। 

उनका बुवा पुस्करसिंह अधिकारी राजा महेन्द्रका ड्राइभर थिए। २०६४ सालमा बुवाको निधन भएपपछि श्याम नेपाल फर्किएका हुन्। उनी बाबु–बाजेको नाम भन्दा पनि आफूले सेवा भावले यहाँ गरेको सामाजिक कार्यका कारण सबैले पत्याएको बताउँछन्। 

‘हजुरबुवाले हामीलाई सेवा गर्न सिकाउनु भयो। बुवाले कसैलाई दुःख नदेउ भन्नु हुन्थ्यो। उहाँहरूको आशिर्वाद र स्थानीयवासीको मायाले गर्दा चुनाव लड्न लागेको हुँ,’ श्यामले दृश्यटिभीसँग बताए। 

४६ वर्षका यी युवा गाउँलेहरूको सर्वसम्मतिले चुनाव उठेको हुँदा जित सुनिश्चित भएको बताउँछन्। ‘सबैले राजनीतिक पार्टीको झण्डा नबोक्ने, सबैको साझा उम्मेदवार बन्नु पर्यो भनेपछि उठेको हुँ। त्यसैले जिताउने जिम्मेवारी पनि उहाँहरूको काँधमा छ,’ उनी भन्छन्। 

श्यामले स्थानीय निकायको चुनावमा कैंची चिन्ह पाएका छन्। उनी बाबु–बाजेको इज्जतलाई थप उचो बनाउन आफूले उम्मेदवारी दिएको बताउँछन्। उनले चुनाव उठ्दै गर्दा स्थानीयवासीसँग निःशुल्क एम्बुलेन्स सेवादेखि सार्वजनिक सम्पत्तिको संरक्षण जस्ता २४ बुँदे घोषणा पत्र पनि सार्वजनिक गरेका छन्। 

सबैभन्दा रोचक कुरा, उनले २०९० सालमा आफ्नो वडा कस्तो हुने भनेर ‘भिजन २०९० कीर्तिपुर ४’ तयार पार्ने प्रतिबद्धता समेत गरेका छन्। उनी विगतका वडा अध्यक्षले के काम गरे र के गरेनन् भन्ने कुराको खोजीनीति गर्ने भन्दा पनि आफूले कसरी वडाको समुचित विकास गर्ने, त्यसमा केन्द्रित रहेको बताउँछन्। ‘विगतका वडा अध्यक्षहरूले गर्नुभएको राम्रो कामलाई पछ्याउने छु। अरु काम योजना बनाएर गर्नेछु,’ उनी आफूलाई भोट दिने आधार बताउँछन्। 
 

प्रतिक्रिया