विप्लव पार्टी महासचिवबाट निस्कासित

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीेमा फुट आएको छ । चितवनमा बुधबारदेखि सुरु भएको हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधर नेताहरूको राष्ट्रिय भेलाले महासचिवबाट विप्लवलाई हटाउने निर्णय गरेको छ ।

समूहका नेता गुणराज लोहनीले स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रीय समितिको निर्णयविपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर महासचिवबाट चन्दलाई हटाइएको बताए । राष्ट्रिय भेलाले पार्टीको केन्द्रीय संयोजक धर्मेन्द्र बास्तोलालाई तोकेको लोहनीले बताए ।

उनले ६४ सदस्यीय केन्द्रीय समिति र ४ सदस्य रहेको सल्लाहकार गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्वमध्ये ४० जना भेलामा उपस्थित रहेको जानकारी दिए । त्यस्तै पार्टी प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई हटाइएको छ ।

केही दिन पहिले चन्दले धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको जम्मेवारीबाट हटाएका गरेका थिए । बिहीबार सकिने भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ ।

प्रतिक्रिया