मिडफिल्डर ‘झापाली’को धरान हाँक्ने योजना

काठमाडौं। सन् १९८८ थाइल्याण्डको राजधानी बैंककमा आयोजना भएको प्रिन्सेस कप युथ फुटबलमा किशोर राई ‘झापाली’ ले नेपाली युवा टोलीमा ‘डेब्यु’ गरेका थिए। यतिबेला उनको ध्यान फुटबल खेल्ने बाहेक केही थिएन। उनको सपना र जपना दुबै फुटबल थियो। 

तर, अहिले उनी फुटबलभन्दा विशिष्ट योजनामा छन्। त्यो हो, धरान उप–महानगरपालिकाको अभिभावक बनेर नगरवासीको सेवा गर्ने। गठबन्धनले पत्याएर उनी यतिबेला नेपाली कांग्रेसको तर्फबाट धरान उप–महानगरपालिकाको मेयर पदका उम्मेदवार छन्। 

फुटबल खेल्दा उनी कुशल खेलाडी थिए। यसपछि ४ कार्यकाल उनले नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष भएर काम गरे। यतिबेला पनि उनी धरानलाई फुटबलको ‘हब’ बनाउन फिफाको ‘गोल–प्रोजेक्ट’ अन्तर्गत एकेडेमी ल्याउन सफल भए। बुढासुब्बा जस्तो महत्वाकांक्षी प्रतियोगिता स्थापना गरे। 

अहिले फेरिएको भूमिकामा उनी धरानलाई व्यवस्थित बनाउने प्रण गर्दै चुनावी मैदानमा उत्रिएका छन्। धरान ऐतिहासिक शहर हो। यहाँका आफ्नै जटिलता र समस्याहरू छन्। 

काठमाडौंमा फोहोर व्यवस्थापन चुनौती भए जस्तै धरानको मुख्य समस्या भनेको पिउने पानी हो। युवाहरूमा बढ्दो दुर्ब्यसनी अर्को मुख्य समस्या हो। विपी कोइराला जस्तो एशियाकै नमुना अस्पताल धरानमा भए पनि चरम राजनीतिका कारण भद्रगोल अवस्थामा छ। 

वास्तवमा झापालीलाई अघिल्लो स्थानीय निकायको चुनावमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेयरको उम्मेदवार बनाउन खोजेका थिए। तर, विभिन्न समीकरण मिलाउनुपर्ने चुनौतीका कारण तिलक राईले अवसर पाए। 

अहिले पार्टीले झापालीको नाममा जुवा खेलेको छ। फुटबलबाट मोडिएर २०४७ सालदेखि निरन्तर नेपाली कांग्रेसमा सक्रिय झापालीले धरानमा पिउने पानी ल्याउन बनेको खानेपानी समितिको संयोजक भएर काम गरिसकेका छन्। उनले सुकुम्बासी लागत ंसंकलन समितिको संयोजक भएर पनि काम गरेका छन्। 

५४ वर्षका यी युवाको जन्म खासमा मोरङको बोरावाङमा भएको थियो। तर, उनको बाल्यकाल झापामा बित्यो। त्यसैले उनको नामको पछाडि झापालीको ‘टाइटल’ झुन्डिएको हो। 

मोरङमा जन्मिएर, झापामा हुर्किएका झापाली सुनसरीलाई आफ्नो कर्मथलो मान्छन्। उनी आफू युवा भएका कारण युवाहरूको शहर भनेर चिनिने धरानलाई आधुनिक र व्यवस्थित बनाउन चाहन्छन्। 

धार्मिक हिसाबले पनि धरान निकै महत्वपूर्ण मानिन्छ। त्यसैले झापालीको एजेण्डामा धार्मिक पर्यटनको योजना पनि छ। उनी धरानलाई खेलनगरी, शिक्षाको ‘हब’ र एशियाकै नमुना स्वास्थ्य संस्था भएको ठाउँको रूपमा चिनाउन चाहन्छन्। 

राष्ट्रिय युवा टोलीका पूर्व मिडफिल्डर भन्छन्, ‘यहाँ सबै थोक छ। खाली उप–महानगरपालिका हाँक्न समन्वयकारी भूमिकाको आवश्यकता मात्र छ।’ 

उनको योजना छ– कोरोना महामारीका कारण आफ्नो पार्टीका पूर्व मेयरले पुरा गर्न नसकेको विकास निर्माणको कामलाई निरन्तरता दिने। आफू मेयर निर्वाचित भएको खण्डमा घरघरमा खानेपानी पुर्याउने बताउँछन्। 

किशोर राई ‘झापाली’ लाई चिन्नेहरू उनी आफ्नो काममा अविचलित भएर एकहोरो लागिरहने व्यक्ति भन्न रुचाउँछन्। फुटबल संघमा कार्यरत रहँदा अरुले असम्भव भनेको बुढासुब्बा गोल्डकप आयोजना गरेर आफूलाई प्रमाणित गरिसकेका छन्। 

उनी आफू मेयर निर्वाचित भएपछि विदेशी कलेजहरूसँग सहकार्य गर्दै धरानमै अन्तर्राष्ट्रिय उच्च शिक्षा दिलाउन पहल गर्ने बताउँछन्। ‘विदेशमा उच्च शिक्षाको नाममा यहाँबाट बार्षिक करोडौं रुपैयाँ बाहिरिरहेको छ। यसलाई हामीले किन नरोक्ने,’ उनी भन्छन्, ‘अझ म त यहाँको अस्पताललाई अन्तर्राष्ट्रियस्तरको बनाउने अभियानमा छु।’

पछिल्लो समय धरानको जनसंख्या बढ्दै गएको छ। उनी धरानलाई अब आधुनिक र ठूलो बजार चाहिएको बताउँछन्। ‘यसमा पनि मेरो विशेष रुची छ।’ उनी लागुऔषध दूर्ब्यसनीले धरानको युवापुस्ता बर्बाद हुन लागेकोमा चिन्ता व्यक्त गर्छन। र, भन्छन्, ‘अब त पाठ्यक्रममै दुर्ब्यसनीको विषयमा सानैदेखि नानीबाबुहरूलाई पढाउनुपर्ने अवस्था विकास भइसकेको छ। यसमा सबैभन्दा ठूलो पहल कदमी लिन्छु।’


अमृत र भीम रोक्नसक्ने को हुन् नागेश कोइराला?

किन ‘विद्रोह’ गरे जगन्नाथले? 

प्रतिक्रिया