अचम्म तर सत्य

 ओस्कार जित्ने कलाकारको आयु किन लामो हुन्छ?

लण्डन। हलिउडको प्रतिष्ठित ओस्कार अवार्ड जित्ने कलाकारले लामो जीवनयापन गर्ने गरेको एउटा रिसर्चमा उल्लेख छ। क्यानडाको टोरन्टो विश्वविद्यालयमा भएको रिसर्चले यो दावी गरेको हो। रिसर्चमा ओस्कार विजेता कलाकारको औसत आयु ८१ दशमलव ३ वर्ष भएको र ओस्कार उपाधिको दौडमा पराजित हुने कलाकारको आयु ७६ दशमलव ४ वर्ष हुने गरेको पत्ता लागेको हो।
 
अनुसन्धानकर्ताले ओस्कार विजेता कलाकारले लामो जीवनयापन गर्ने कारण सफलता बताएका छन्। उनीहरूले सकारात्मक सोच नै लामो जीवनको रहस्य भएको जानकारी दिए। मिहिनेतको फलस्वरुप अवार्ड जित्दा यसले व्यवहारिक, मनोवैज्ञानिक र अन्य स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताएको छ। 

अनुसन्धानकर्ताले उदाहरणको रुपमा सन् १९८७ मा रिलिज ‘आयरन वीड’ फिल्मका अमेरिकी अभिनेत्री मेरिल स्ट्रिप र मार्गरेट ह्वीटनको तुलना गरेका छन्। ह्वीटन ओस्कारको मनोनयनमा परेकी थिइनन्। स्ट्रिप मनोनयनमा परेकी थिइन। उनी ७२ वर्षको उमेरमा पनि आज फिल्ममा सक्रिय छिन्। तर, ह्वीटनको सन् २०१६ मा ६७ वर्षको उमेरमा निधन भएको थियो। स्ट्रिपले हालसम्म ३ पल्ट ओस्कार जितिसकेकी छिन्। 

बेलायतबाट प्रकाशित डेली मेलले लेखेको छ, यो विषयलाई लिएर पहिलेदेखि नै बहस हुँदै आएको थियो। सन् २००५ मा पनि यस विषयमा रिसर्च भएको थियो। त्यतिबेला पनि अनुसन्धानकर्ताले अवार्ड हार्नेभन्दा जित्नेको उमेर ५ वर्ष बढी भएको पत्ता लगाएका थिए।

प्रतिक्रिया