व्यावसायिक मर्यादाको परिधिभित्र रहेर काम गर्ने आईजीपी सिंहको प्रतिवद्धता

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरीको साङ्गठनिक क्रियाकलापलाई प्रक्रियागत र पारदर्शी बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । सोमबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिन्ह सुशोभन समारोहमा नवनियुक्त आईजीपी सिंहले व्यावसायिक मर्यादाको परिधिभित्र रहेर काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनलाई भयरहित र सुरक्षित गराउन सुरक्षा योजना बनाएर लागु गरिएको जानकारी दिँदै सिंहले भने,‘शान्तिपूर्ण चुनाव गराउन प्रतिबद्ध छु ।’

उनले राज्यले सुम्पिएको जिम्मेवारीलाई उच्च व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्ने र कर्मचारीको वृत्तिविकास, साङ्गठनिक सुदृढीकरणमा जोड, थपिएका सुरक्षा चुनौतीको सामना गर्न तथा अपराधी नियन्त्रणमा गम्भीरतापूर्वक लाग्दै आम नागरिकमाथि नेपाल प्रहरीप्रतिको विश्वास अभिवृद्धितर्फ आगामी रणनीति केन्द्रित रहने जानकारी दिए ।

उनले हरेक साङ्गठिनक क्रियाकलापलाई पारदर्शीतापूर्ण गरी भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम राख्दै आपराधिक तत्वको क्रियाकलाप निमिट्यान्न पार्ने प्रतिबद्धता जनाए । आफ्ना सहकर्मीलाई साथमा लिएर सङ्गठन सुधारमा लाग्ने र निकटमा आएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहति बनाउन प्रहरीको पूर्ण ध्यान केन्द्रित गर्ने बताए ।

समाराहेमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीको कार्यसम्पादनका सूचक र मानकलाई अझै माथि उठाउन मानव संशाधनको विकास, आधुनिक प्रविधिको विकास र नतिजामुखी नवीन कार्यशैलीको कार्यसम्पादनलाई विशेष प्राथमिकता दिने बताए ।

उनले शान्ति, सुशासन, विकास र समृद्धिका जनअपेक्षा पूरा गर्ने मूल उद्देश्यसहित गृहमन्त्रालयबाट अघि बढाइएको गृहप्रशासन सुधार योजनाअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाए । महानिरीक्षक अर्यालले स्थानीय तह निर्वाचनलाई प्राथमिकतामाथिको प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाए ।


 

प्रतिक्रिया