अस्तित्व रक्षाको संघर्षमा ‘एमालेभित्रका माओवादी’

 

 

काठमाडौं । नेकपा (एमाले)मा दश बुँदे सम्झौताको रटान लगाइरहेका घनश्याम भुषालले केही साताअघि एमालेकै अर्का नेता रामबहादुर थापा ‘बादल’लाई ‘लिन प्याओ नै रहेछन्’ भन्ने टिप्पणी गरेको खबर बाहिरिएको थियो । 
चीनमा माओत्से तुङलाई समाप्त गरेर नेतृत्व हत्याउने षडयन्त्र गरेका नेता लिन प्याओको सन्दर्भ नेपालका कम्युनिष्टहरुमा बारम्बार उठने गर्छ । 
एमालेभित्र घनश्यामजस्ता नेताले रामबहादुर थापालाई ‘लिनप्याओ’ भन्न थालेपछि माओबादी केन्द्रबाट गएका नेताहरुको एमालेमा कस्तो मान सम्मान छ भन्ने स्पष्ट हुन्छ । 
एमाले अध्यक्ष केपी ओलीको पक्षमा लागेका पूर्व माओबादीका २३ केन्द्रिय सदस्यका लागि आसन्न दशौं महाधिवेशन फलामका च्यूरा चपाए सरह हुने आँकलन गर्न थालिएको छ । 

top bahadur rayamajhi

नेता थापाको महत्वकांक्षा ओलीपछिको बरिष्ठ उपाध्यक्ष हो, तर यसमा असली एमालेका खाँटी ओली पक्षधर अन्य नेताको समेत दाबी भएकाले थापाको अस्तीत्व एमालेमा संकटमा पर्न थालेको छ । यसैगरी महासचिव, सचिव र अन्य पदमा पनि माओबादी मूलका एमाले नेताहरुको दाबी छ । 
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालभन्दा ओली नै जाती भन्दै एमालेमै रहेका अधिकांश प्रभावशाली नेता कार्यकर्ता यसपाली महाधिवेशन प्रतिनिधिसमेत भएनन् । २३ केन्द्रिय सदस्यसहित करीब ५० जना मात्र यो झुण्डबाट महाधिवेशन प्रतिनिधि बनेपछि ‘क्रान्तिकारी कमरेड’हरु बिलखबन्दमा परेका छन् ।  
‘हरेक निर्वाचन क्षेत्रबाट एकजना र जनवर्गिय संगठनबाट पनि प्रनिनिधि चयन गर्नुपर्ने हाम्रो माग थियो, तर अध्यक्ष ओली पक्षले पेलपाल गरेर हामीलाई किनारा लगाएको छ, महाधिवेशनपछि त झन हाम्रो अवस्था कमजोर होलाजस्तो छ’, थापा समूहका एक नेताले दृश्यटिभीसँग भने ।  
माओवादी लिग्यासीले पनि ‘एमालेभित्रका माओबादी’लाई समस्यामा पार्ने गरेको छ । एमालेभित्र उनीहरुलाई ‘आइते र ल्याइते’ उपमा दिने गरिएको चर्चा गत विधान महाधिवेशनमै चलेको थियो ।   
विगत द्वन्द्वकालमा घरघर घुसेर एमालेका नेता कार्यकर्तामाथि जाइलाग्न र एमालेको संगठन भत्काउन कुनै कसर बांकी नराखेको भन्दै माओवादी पृष्ठभूमिका ‘नव एमाले’प्रति ‘खाँटी एमाले’ पँक्तिले कटाक्ष गर्दै आएको छ । 

lekhraj_bhatta


रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट आदि नेताहरुले आफ्नो अस्तीत्व रक्षामै बढी चिन्ता गरिरहेको बेला स्थानियस्तरका नेता कार्यकर्ता भने अन्यौलमा छन् । जिल्लामा उनीहरुलाई ओली पक्षले खासै महत्व नदिएको मात्र हैन, उपहास नै गर्ने गरेको छ ।

प्रतिक्रिया