संयुक्त राष्ट्र संघका महासचिव किएभमा भएको बेला दुई रुसी क्षेप्यास्त्र प्रहार

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरस युक्रेनीको भ्रमणमा रहेको बेला राजधनी किएभमा दुईवटा रुसी क्षेप्यास्त्र प्रहार भएको छ।

गुटेरसले उक्त खबरबाट आफू स्तब्ध भएको बताएको बीबीसीले उल्लेख गरेको छ। रुसी आक्रमणबाट कयौं मानिसहरु घाइते भएको जनाइएको छ।

महासचिव गुटेरसले युक्रेनको द्वन्द्व रोक्न वा अन्त्य गर्न विफल भएकोमा सुरक्षा परिषद्को आलोचना गरेका छन्। किएभमा बोल्दै उनले त्यो ठूलो खिन्नता, निराशा र क्रोधको कारक रहेको बताए।

राष्ट्र संघको सुरक्षा परिषद्‌मा १५ सदस्य राष्ट्र छन् र उक्त परिषद्को मूल जिम्मेवारी भनेको विश्वव्यापी रूपमा शान्ति र सुरक्षा कायम गर्नु रहेको छ।

तर, गएको फेब्रुअरीमा रुसले अतिक्रमण सुरु गरे यता कदम चाल्न विफल भएको भन्दै युक्रेन सहितले उक्त निकायको आलोचना गरिरहेका छन्।

किएभका मेयर भिताली क्लित्स्कोले क्षेप्यास्त्रले केन्द्रीय डिस्ट्रिक्टमा अवस्थित एउटा २५ तल्ले भवनलाई निशाना बनाइएको बताएका छन्। 

घटनास्थलमा रहेका एकजना आन्तरिक मामिला सल्लाहकार एन्टोन हेरासचेन्कोले क्रुज क्षेप्यास्त्रको इन्जिनको तस्बिरलाई पोस्ट गर्दै त्यो क्राइमियाबाट प्रहार गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ।

राष्ट्रपति जेलेन्स्कीले उक्त आक्रमणले विश्व संगठनप्रतिको रुसी वास्तविक धारणालाई उजागर गरेको र त्यसप्रति कडा प्रतिवाद हुनु आवश्यक रहेको बताएका छन्।

उनले किएभ र अन्य शहरमा गरिएका क्षेप्यास्त्र हमलाले आफूहरूलाई आरामले बस्न नमिल्ने प्रस्ट पारेको उल्लेख गरेका छन्।

प्रतिक्रिया