‘नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२२’ का लागि आवेदन आह्वान

काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०२२ का लागि सञ्चालन गर्ने नवौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन खुला गरेको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । 

    विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड कनिष्ठ र वरिष्ठ गरी दुई विधामा आयोजना गरिनेछ । जसअन्तर्गत कक्षा ८–१० सम्मका विद्यार्थीले कनिष्ठमा आवेदन दिन सक्नेछन् ।

कक्षा ११–१२ का विद्यार्थीले वरिष्ठमा आवेदन दिनसक्ने पनि उनले बताए । ओलम्पियाडको पहिलो चरण/छनोट परीक्षा प्रादेशिक चरणका रुपमा यही मे ७, २०२२ (वैशाख २४, २०७९) शनिबार मध्यान्ह १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिनेछ । इच्छुक विद्यार्थीले आवेदन फाराम आफूलाई पायक पर्ने सम्बन्धित प्रदेशका सोसाइटीले तोकेका संयोजकलाई बुझाउन सक्नेछन् ।
  
    प्रदेश चरणमा गरिएको प्रदर्शनका आधारमा दोस्रो चरण अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइनेछ । यसरी दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ ।

तेस्रो चरणको मूल्याङ्कनमार्फत् सहभागी विद्यार्थीलाई यो वर्ष सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफ़िसिक्स  ओलम्पियाडका लागि सिफारिस गरिनेछ । कार्यक्रमको आवेदन फाराम तथा त्यससम्बन्धी सम्पूर्ण जानकारी www.nepalastronomicalsociety.org/olympiad  मा उपलब्ध छ  ।

प्रतिक्रिया