तेन्दुलकरकी छोरीले बलिउडमा डेब्यु गर्ने

मुम्बई। भारतका पूर्व क्रिकेट स्टार सचिन तेन्दुलकरकी छोरी सारा तेन्दुलकरले बलिउडमा पाइला टेक्न लागेको भारतीय मिडियाले जनाएको छ। 
साराले फिल्मी क्षेत्रमा रुची देखाएको र उनी छिट्टै हिन्दी फिल्ममा देखा पर्नसक्ने बताइएको छ। उनको करिअरलाई लिएर परिवार पनि उत्साही रहेको श्रोतलाई उल्लेख गर्दै भारतीय मिडियाले जनाएका छन्। 

साराको सोसल मिडियामा ठूलो संख्यामा फलोअर्स छन्। इन्स्टाग्राममा मात्र उनका १९ लाख फलोअर्स छन्। 

सूत्रका अनुसार सारा अहिले अभिनयको कक्षा लिइरहेकी छिन्। केही ब्राण्ड र इन्डोर्समेन्टमा उनले काम गरिरहेको पनि बताइन्छ। साराले लण्डन विश्वविद्यालयबाट मेडिसिन विषयमा स्नातक गरेकी छिन्। ‘तर पनि उनी २४ वर्षको उमेरमा ग्ल्यामरलाई आफ्नो करिअर बनाउने अभियानमा छिन,’ सूत्रले बतायो। 

केही वर्षअघि साराले बलिउड अभिनेता शाहिद कपुरसँग डेब्यु गर्न लागेको हल्ला चलेको थियो। तर यतिबेला सचिनले मिडियामा आएको रिपोर्टको खण्डन गरेका थिए। अहिले उनको विषयमा सचिनले कुनै प्रतिक्रिया जनाएका छैनन्।
 

प्रतिक्रिया