इलाममा साविककै उम्मेदवारको दबदबा

रोहितचन्द्र भट्टराई- 

इलाम । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता मितिको संघारमा इलामका राजनीतिक दलहरु आफ्ना उम्मेदवारको अन्तिम नाम टुङ्गो लगाउन जुटेपनि जिल्लाका ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारको नाम सर्वजनिक गरिसकेका छैनन् । नेकपा एमालेले जिल्लाका ८१ वटै वडाका वडाध्यक्षसहितको नाम फाइनल भइसकेको बुझिएको छ । यसअघि सूर्योदय, देउमाई, रोङ र माङ्सेबुङ गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरुको नाम सर्वसम्मत ढंगले एमालेले टुङ्ग्याएको थियो ।

आधिकारिक उम्मेद्वार सार्वजनिक नभएपनि काङ्ग्रेसमा पनि अधिकाँश पालिकाका उम्मेदवारका नाम बाहिर आउन थालेका छन् । गठबन्धन र प्रतिपक्षी एमालेबाट चर्चामा आएका अधिकाँश नाम यसअघि (२०७४ को स्थानीय तह निर्वाचन)कै उम्मेदवार हुन् । फरक यतिमात्रै हो, कसैले जितेका र कसैले हनरेका थिए ।

अहिले एमालेबाट उम्मेद्वार बनाइएका सन्दकपुर गाउँपालिकाका उदयबहादुर राई र शोभा पराजुली २०७४ मा एमालेबाटै विजयी प्रमुख र उपप्रमुख हुन् । फाकफोकथुम गापामा एमालेबाट उम्मेदवार प्रमुखमा दिपेन्द्र खनाल र उपप्रमुखमा कल्पना राई मध्ये खनालले यसअघि प्रमुखमै उठेर हारेका हुन् । माइजोगमाई गापामा एमालेले उठाएका प्रमुखमा कुशबहादुर थेवे र उपप्रमुखमा सावित्रा भट्टराईमध्ये भट्टराई एमालेबाटै २०७४ मा विजयी उपप्रमुख हुन् ।

एमालेले सूर्योदय नगरपालिकाको प्रमुखमा काजीमान कागते र उप–प्रमुखमा २०७४ मा पनि एमालेबाटै उपप्रमुख जितेकी दुर्गादेवी भट्टराई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै देउमाइ नपाको प्रमुखमा सूर्य पोख्रेल र उप–प्रमुखमा पविमाया राई तथा माङसेबुङ गाउँपालिकाको प्रमुखमा हेमन्त राई र उपप्रमुखमा सुनिता योङ्गहाङ्गको नाम एमालेबाट उम्मेदवारमा छ । उनीहरू चारै जना २०७४ मा पनि एमालेबाट तिनै पदमा उम्मेद्वार थिए भने हेमन्तबाहेक सबै विजयी भएका थिए ।

माई नरपालिकामा प्रमुखको चर्चामा रहेकामध्येका दीपक थेवे र उपप्रमुखको चर्चामा रहेकामध्ये विष्णुमाया आचार्य पनि २०७४ मा एमालेबाटै विजयी प्रमुख उपप्रमुख हुन् ।

नेपाली काँङ्ग्रेसबाट चर्चामा रहेका उम्मेदवारहरु पनि धेरैजसो २०७४ मा उम्मेद्वार बनिसकेका छन् । माङ्सेबुङ गापामा अहिले प्रमुखको उम्मेदवार बन्दै गरेका डिकेन्द्र इदिङ्गो र रोङ गाउँपालिकामा प्रमुखको उम्मेदवार बन्दै गरेका सम्शेर राई २०७४ मा काङ्ग्रेसबाटै सोही पदमा विजयी भएका हुन् ।

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका भागमा परेका दुई पालिकामासमेत समाजवादीले पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ । सो पार्टीले सूर्योदय नपा र माईजोगमाई गापामा यसअघि एमालेबाट विजयी बनेका वर्तमान प्रमुखहरू क्रमशः रणबहादुर राई र जीतबहादुर राईलाई नै प्रमुखमा उठाउने तयारी गरेको हो ।

एमालेले यसपटक रोङको प्रमुखमा मेहेरमान तामाङ र उपप्रमुखमा विष्णुमाया भुजेललाई उम्मेद्वार बनाउने चर्चा छ । इलाम नपामा अहिले सम्म प्रमुखमा धिरेन चेम्जोङ, नरेन्द्रनाथ भट्टराई र कृष्ण श्रेष्ठ तथा उप–प्रमुखमा सीता रिजाल, शारदा उप्रेती र विद्या सापकोटाले दाबी गरिरहेकाले टुङ्गो लागेको छैन । उता माई नगरपालिका प्रमुखमा दिपक थेवे र खम्बासिंह लिम्बू तथा उप–प्रमुखमा विष्णुमाया आचार्य र हिमा भण्डारी बीच पनि कस्ले टिकट पाउने भन्ने टुङ्गो हुन बाँकी छ ।

चुलाचुली गापामा ओमनारायण खनाल र अनुप अधिकारीले प्रमुखमा दाबी छाडेका छैनन् भने उपप्रमुमा दिलु लावतीको नाम पक्का जस्तै भएको एमाले स्रोतले जनाएको छ ।
 

प्रतिक्रिया