केजीएफ–२ हेर्न गएका एक युवामाथि हलभित्र गोली प्रहार

कर्नाटका। यश अभिनित चलचित्र ‘केजीएफ–२’ को हंगामा छ, अहिले भारतभरि। तर, यही फिल्म हेर्ने क्रममा बुधबार एउटा दुःखद घटना भएको छ। कर्नाटकको हावेरीस्थित राजश्री सिनेमाघरमा अज्ञात व्यक्तिको एउटा समूहले २७ वर्षका एक युवालाई गोली हानेको छ।

ती युवालाई दुई वटा गोली लागेको र घाइते अवस्थामा नजिकैको अस्पताल पुर्याइएको स्थानीय प्रहरीले जानकारी दिएको छ।

ती युवा हाल खतरामुक्त छन्। तर, उनलाई कसले र के कारण गोली हानिएको हो, खुल्न सकेको छैन।

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार घाइते व्यक्ति मुगली गाउँका स्थानीयवासी हुन् र उनको नाम बसन्त कुमार हो। उनी साथीहरूसँग राती फिल्म हेर्न हल पुगेका थिए। हलभित्र उनको अज्ञात दुई जनासँग बहस भएको उनी भर्ना भएको किम्स अस्पतालका पदाधिकारीले जानकारी दिएका छन्।

घाइते वसन्त कुमारले हलको नियम उल्लंघन गरेको र उनले अगाडिको सिटमा बस्ने मानिसको सिटमुनि खुट्टा राखेका कारण बहस भएको बताइएको छ।
अगाडि बस्ने मानिसले आफूमाथि दूर्व्यवहार भएको महसुस गरेपछि बाहिर गएर पेस्तोल ल्याएको र वसन्त कुमार माथि दुई राउण्ड गोली प्रहार गरेको अस्पताल श्रोतले बतायो।

स्थानीय पत्रिकाले वसन्त खेतमा काम गर्ने मजदुर भएको बताएको छ। प्रहरी थप अनुसन्धानमा जुटेको छ।

गोलीको आवाजपछि सिनेमा हलभित्र भागाभाग भएको थियो। एजेन्सी

प्रतिक्रिया