युपीमा बढ्यो कोरोना, १ को निधन

काठमाडौं। नेपालको पश्चिम सीमानामा रहेको भारतको उत्तर प्रदेश (युपी) मा कोरोनाको संक्रमण बढ्न थालेको छ।

भारतीय अखबारहरूले उत्तर प्रदेशमा आइतबार १ जनाको निधन भएको र बढ्दो कोरोनाको प्रकोपलाई लिएर युपी सरकारले राजधानी लखनउ र गाजियावादलगायत ७ जिल्लाको सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ।

छिमेकी भारतमा केही दिनदेखि कोरोना संक्रमण बढ्न थालेपछि सीमा क्षेत्रका नेपालीहरू सशंकित बनेका छन्। नेपालमा कोरोना भारतको बाटो हुँदै फैलिने गरेको छ। भारतमा अहिले पनि लाखौंको संख्यामा नेपालीहरू कार्यरत छन्। यसमा पनि युपीमा नेपालीहरूको घनत्व बढी छ।

भारतमा आइतबार मात्र २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमा २ सय १३ जनाको निधन केरलमा मात्र भएको बताइएको छ। आइतबार भारतमा २ हजार १ सय ८३ संक्रमित फेला परेका थिए। शनिबारको तुलनामा करिब ९० प्रतिशतले संक्रमित बढेको तथ्यांकमा उल्लेख छ।

यही वर्षको जनवरीमा तेस्रो लहरको कोरोना फैलिएको थियो। त्यसयता ११ सातादेखि संक्रमितको संख्या घटिरहेको अवस्थामा अहिले फेरि ह्वात्त बढेको हो। एक सातायता राजधानी दिल्ली, हरियाणा र उत्तर प्रदेशमा संक्रमितको संख्या बढेको छ।
 

प्रतिक्रिया