बेलायती प्रधानमन्त्रीलाई रुस प्रवेशमा रोक

काठमाडौं– रुसले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। 

रुस–युक्रेन युद्धमा आफ्नो देशविरूद्ध षड्यन्त्र गरेको भन्दै मस्कोले बेलायती प्रधानमन्त्रीसहित विदेश सचिव लिज ट्रस र अन्य १० कुटनीतिज्ञलाई प्रतिबन्ध लगाएको हो। 

रुस–युक्रेन युद्ध ५० दिनभन्दा बढी लम्बिसकेको छ। युद्धकै अवस्थामा युक्रेनलाई समर्थन जनाउन बेलायती प्रधानमन्त्री जोन्सन राजधानी किएभ पुगेका थिए। बेलायतले युक्रेनको समर्थनमा सैन्य सामाग्री पनि पठाएको थियो। 

रुसी विदेश मन्त्रालयले युक्रेन युद्धमा आफ्नो एक जर्नेल भ्लादिमिर फ्रोलोभको मृत्यु भएको जानकारी दिएको छ। उनको शनिबार सेन्ट पिटर्सवर्गमा अन्त्येष्टी गरिएको गर्भनर अलेक्जेन्डर बेग्लोभले जानकारी दिए। युक्रेन युद्धमा अहिलेसम्म ७ रुसी जर्नेलको मृत्यु भइसकेको दाबी गरिएको छ। 

यसैबीच रुस–युक्रेन शान्तिवार्ताका लागि रुसी अर्बपति रोमन इब्राहिमोविचले किएभको भ्रमण गरेका छन्। इटालीले आइतबारदेखि लागु हुने गरी रुसको जहाजलाई आफ्नो बन्दरगाहमा प्रवेश गर्न रोक लगाएको छ।

प्रतिक्रिया