रुससँगको युद्धको ५० दिन पूरा, युक्रेनी राष्ट्रपति भन्छन्- विश्वका धेरै नेतालाई चिनें

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गरेका छन्। उनले शुक्रबार युक्रेन बचाउन लड्नहरुको लागि सम्बोधन गरेका हुन्।

जेलेन्स्कीले भने, ‘एक बहादुर देशका अटल जनता। हामी ५० दिनसम्म उभियौं, कब्जा गर्नेहरुले हामीलाई धेरैमा ५ दिन बाँधेर राख्न सके।’

धेरै पश्चिमा नेताहरुसँगको वार्ता र भेटघाटलाई स्मरण गर्दै उनले भने,‘यी ५० दिनमा मैले विश्वका धेरै नेताहरुलाई विभिन्न तरिकाले देखेको छु। मैले राजनीतिज्ञहरू आफूसँग शक्ति नभएको जस्तो व्यवहार गरेको देखेको छु। नेतृत्व गरेको दाबी गर्नेभन्दा पनि यो ५० दिनमा धेरै काम गरेका गैरराजनीतिक मानिसहरू देखेको छु।’

जेलेन्स्कीले मस्क्भ नाम गरेको लडाकु पानी जहाज डुबेको प्रत्यक्ष रूपमा उल्लेख गरेनन्, तर युक्रेनी सेनाको प्रशंसा गरे।

गएको बुधबार मस्क्भ नाम गरेको लडाकु पानी जहाज युक्रेन युद्धका लागि सैन्य सामग्री तथा सुरक्षाकर्मीसहित ब्ल्याक सीमा रहेका बेला बिस्फोट भएको थियो। रुसी रक्षा मन्त्रालयले गम्भीर रुपमा क्षतिग्रस्त भएको सो पानी जहाज ब्ल्याक सी मै डुबेको बताएको हो।

समुद्रमा आएको छालहरुका कारण जहाज डुबेको दाबी रुसी रक्षा मन्त्रालयको रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनमा रुसी सैन्य आक्रमणमा मस्क्भ पानी जहाजलाई रुसी सैन्य शक्तिको प्रतिकका रुपमा रहेको थियो। ५१० सदस्य रहन सक्ने मिसाइल क्रुजर पानी जहाजमा भएको क्षति युक्रेन युद्धमा रुसले बेहोरेको ठूलो सैन्य धक्काका रुपमा हेरिएको छ।

युक्रेनले आफ्ना सैनिकले प्रहार गरेको मिसाइलका कारण मस्क्भ क्षतिग्रस्त भएको बताएको थियो। तर, रुसले भने हालसम्म पानी जहाजमा भएको आक्रमणबारे केही बताएको छैन।

उनले भने, ‘५० दिनको रक्षा हाम्रो लागि उपलब्धि हो, यो युक्रेनका करोडौं जनताको उपलब्धि हो।’

प्रतिक्रिया