युक्रेनी राष्ट्रपति भन्छन्- पैसाको मुद्दामा अल्झिने बेला रहेन, रुसी तेलमाथि प्रतिबन्ध लगाऔं

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तेलका लागि ‘ब्लड मनी’ (रगतको पैसा) प्रदान गरिएको आरोप युक्रेनले लगाएका छन्।

जर्मनी र हंगेरीले रुसी इन्धनमाथि प्रतिबन्ध लगाउने प्रयासमा गरिरहेको अवरोध तर्फ संकेत गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

बीबीसीसँगको अन्तर्वार्ताको क्रममा जेलेन्स्कीले युरोपका देशहरुले रुसीसँग तेल किन्न जारी राखेर पैसा कमाउन सहयोग गरिरहेको आरोप लगाएका छन्।

‘हाम्रा केही साथी तथा साझेदारहरुले बुझेका छन् अहिले समय फेरिएको छ। अब व्यवसाय र पैसाको मुद्दामा अल्झिने बेला रहेन, यो त जीवन मरणको सवाल हो,’ उनले भने।

जर्मनीले युक्रेनमा रुसी आक्रमणका बाबजुद रुसबाट तेल किन्न कार्य रोक्न सकेको छैन।  जर्मनीले रुसमाथि केही प्रतिबन्ध लगाएको छ, तर तेलमाथिको प्रतिबन्धमा भने सकारात्मक छैन।

जर्मनी अधिकांश रुपमा इन्धनका लागि रुसमाथि निर्भर रहेको छ। युरोपका अरु देश रुसी तेलको विकल्प खोज्न तयार भए पनि जर्मनी र हंगेरी भने सहमत छैनन्। 

राष्ट्रपति जेलेन्स्कीले युक्रेनलाई थप हतियारको खाँचो रहेको र सहयोगका लागि युरोपेली देशसँग पुन : अपिल गरेका छन्। आफूहरुले रुसी आक्रमणकारीको सामना गर्नका लागि आवश्यक हतियार समयमा प्राप्त नगरेको बताए।

‘अमेरिका, बेलायत, केही युरोपेली देशले सहयोगका लागि प्रयास गरिरहेका छन् र सहयोग पनि गरिरहेका छन्। तर, हामीलाई तत्काल अहिले नै चाहिएको छ,’ उनले भने।

युक्रेनको राजधानी किएभ क्षेत्रबाट पछि हटेका रुसी सैनिकले आक्रमण पूर्व र दक्षिण तर्फ केन्द्रित गरेका छन्।

प्रतिक्रिया