नेताहरुलाई निर्वाचनबारे संशय सृजना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेको छ ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरु नदिन राजनीतिक दलका नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

पौडेलले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरु तीव्रताका साथ अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरुप्रति आयोगको ध्यानाकर्षण भएको बताए । उनले आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये बिहीबारसम्म ३९ जिल्लाका ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको र हाल दैनिक ८ लाख थान मतपत्र छपाइ भइरहेको जानकारी दिए ।

प्रवक्ता पौडेलले निर्वाचनको पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गत चैत्र १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको र उक्त निवेदनउपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धी निर्णय गर्ने बताए ।

उनले निर्वाचन आयोगले स्थानीय तह निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहज रुपमा जानकारी दिन बिहीवार (आज) बाट हरेक दिन स्थानीय तह निर्वाचन इ बुलेटिन प्रकाशन शुरु गरेको बताए ।

केही दिनयता नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन सर्ने अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया