मरिपोलका एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसको दाबी

काठमाडौं– रुसी घेराबन्दीमा रहेको तटीय शहर मरिपोलका एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको रुसले दाबी गरेको छ। 

सुरक्षामा खटिएका युक्रेनीले आत्मसमर्पण गरेको रुसले दाबी गरेको हो। तर, युक्रेन भने रुसी दाबीलाई अस्वीकार गरेको छ। मरिपोलका उपमेयर शर्हिय अरलोभले अझै पनि युक्रेनी सैनिक शहरको रक्षाका लागि लडिरहेको बताएका छन्।

मरिपोलको एजोभ्स्ताल क्षेत्रमा अहिले पनि भिडन्त जारी रहेको उनको भनाइ छ। तर, रुसी टेलिभिजनले युक्रेनी सैनिकले आत्मसर्मपण गरेको देखाएको छ।

मरिपोलका उपमेयर अरलोभले भनेका छन्, ‘मारिपोलका लागि संघर्ष जारी छ। रुसी आक्रमणकारीले अस्थायी रुपमा शहरको केही भाग कब्जा गरेका छन्। युक्रेनी सैनिकले शहरको मध्य तथा दक्षिणी क्षेत्र सुरक्षाका लागि प्रयास गरिरहेका छन्। यस्तै औद्योगिकसहितका क्षेत्रको पनि रक्षा गरिरहेका छन्।’

मरिपोल रणनीतिक रुपमा अति महत्वपूर्ण स्थानमा पर्छ। पूर्वमा रुस पक्षधर बिखण्डनकारीको बाहुल्यता रहेको डोनेट्स्क र लुहान्स्क तथा दक्षिण क्राइमिया छ। क्राइमियालाई रुसले सन् २०१४ मा युक्रेनबाट विभाजन गरी आफूमा मिलाएको थियो।

रुस जसरी भए पनि मरिपोल आफ्नो कब्जामा ल्याउन चाहन्छ। पूर्वी क्षेत्रमा आफ्नो सैन्य क्षमता बितारका लागि मरिपोल प्रमुख मार्ग बन्ने भएकाले रुस त्यहाँ कब्जा जमाएर सैन्य गतिविधि तीव्र पार्ने लक्ष्यमा रहेको बताइन्छ।

प्रतिक्रिया