युक्रेनको दक्षिणी तटीय शहर मारिपोलको संघर्ष अझै जारी

काठमाडौं– युक्रेनको दक्षिणी तटीय शहर मारिपोलको संघर्ष अझै जारी रहेको स्थानीय अधिकारीले बताएका छन्।

युद्ध अन्त्यनजिक पुगेको केही समाचारहरु प्रकाशित भए पनि स्थानीय अधिकारीले भने लामो समयदेखि रुसी सैनिकको घेराबन्दीमा रहेको शहर मारिपोलको संघर्ष अझै जारी रहेको बताएका हुन्।

मारिपोलका मेयर शर्हिय अरलोभले युक्रेनी सैनिकले अझै पनि रुसी सैनिकसँग संघर्ष गरिरहेको बताएका हुन्।

‘मारिपोलका लागि संघर्ष जारी छ। रुसी आक्रमणकारीले अस्थायी रुपमा शहरको केही भाग कब्जा गरेका छन्। युक्रेनी सैनिकले शहरको मध्य तथा दक्षिणी क्षेत्र सुरक्षाका लागि प्रयास गरिरहेका छन्’, मेयरले भनेका छन्।

यसअघि युक्रेनी जल सैनिकको एक टुकडीले ४७ दिनसम्म शहरको रक्षा गरिए पनि आफूहरु रुसी आक्रमणकारीबाट घेराबन्दीमा परेको बताएका थिए। आमनेसामने लडाइँको अवस्था आउँदासमेत आफूहरुले सहयोग नपाएको सो टुकडीको दाबी थियो। तर, मेयरले भने सो कुरालाई अस्वीकार गरेका छन्।

शहरमा रहेका आफ्ना सैनिकबीचको सञ्चार सम्पर्क हालसम्म स्थापित रहेको युक्रेनी सशस्त्र बलका कमाण्डर इन चिफले बताए।

मारिपोल रणनीतिक रुपमा अति महत्वपूर्ण मानिन्छ। पूर्वमा रुस पक्षधर बिखण्डनकारीको बाहुल्यता रहेको डोनेट्स्क र लुहान्स्क तथा दक्षिण क्राइमिया छ। क्राइमियालाई रुसले सन् २०१४ मा युक्रेनबाट विभाजन गरी आफूमा मिलाएको थियो।

रुस जसरी भए पनि मारिपोल आफ्नो कब्जामा ल्याउन चाहन्छ। पूर्वी क्षेत्रमा आफ्नो सैन्य क्षमता विस्तारको लागि मारिपोल प्रमुख मार्ग बन्ने भएकाले रुस त्यहाँ कब्जा जमाएर सैन्य गतिविधि तीव्र पार्ने लक्ष्यमा रहेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया