नेपालले भारतलाई थप ३२५ मेगावाट बिजुली बिक्री गर्ने

काठमाडौँ । नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको हो ।

यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत भारतीय उर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्न स्वीकृत दिएको थियो। योसँगै नपालले भारतीय विद्युत बजारमा ३६४ मेगावाट विद्युत बिक्री गर्ने बाटो खुला भएको छ ।

नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा उनका समकक्षी नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यसबाट वर्षा याममा उत्पादित विद्युत् मुलुकभित्र खपत गरी अतिरिक्त विद्युत्को निर्यात भई दुई देशबीचको व्यापार घाटामा कमी आइ अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने मन्त्रालयले आशा व्यक्त गरेको छ ।

प्रतिक्रिया