अमेरिकाले युक्रेनलाई थप १० करोड डलर सहयोग गर्ने

काठमाडौं– अमेरिकाले युक्रेनलाई थप १० करोड डलर सहयोग गर्ने घोषणा गरेको छ। विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा रुसी क्रुरताको जानकारी आएपछि अमेरिकाले सहयोग गर्न लागेको बताएका हुन्।

एक विज्ञप्तिमा ब्लिन्केनले भने, ‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप १० करोडसम्मको सुरक्षा सहायता उपलब्ध गराउँदैछ।’

यसबाहेक चेक गणतन्त्रले युक्रेनलाई युद्ध हतियार सहयोग पठाएको छ। चेक गणतन्त्र रूससँग युद्ध लडिरहेको युक्रेनलाई हतियार सहायता पठाउने पहिलो युरोपेली देश बनेको छ।

वरिष्ठ चेक अधिकारीहरूले रोयटर्स समाचार एजेन्सीलाई भने,‘देशले सोभियत निर्मित टी–७२ ट्याङ्कहरू र बीभीपी–१ गाडीहरू युक्रेन पठाएको थियो।’

यसैबीच डेनमार्क र स्वीडेनले रुसी कूटनीतिज्ञलाई आफ्नो ठाउँबाट निष्कासन गरेका छन्। सोमबार मात्रै फ्रान्स र जर्मनीले युक्रेनको राजधानी किएभमा रुसी सैन्य अत्याचारको रिपोर्ट आएपछि रुसी कूटनीतिज्ञहरूलाई बर्खास्त गरेका थिए। 

समाचार एजेन्सी रोयटर्सले स्वीडेन र डेनमार्कको यो निर्णयको जानकारी दिएको छ। एजेन्सीले इटालीको विदेश मन्त्रालयका प्रवक्ता लुइजी डि मायोलाई उद्धृत गर्दै इटालीले ३० रुसी कूटनीतिज्ञहरूलाई पनि आफ्नो स्थानबाट हटाएको बताएको छ।

डेनमार्कले किएभ नजिकैको बुचामा नागरिक हताहत भएको प्रमाण बाहिर आएपछि १५ रुसी कूटनीतिज्ञलाई बर्खास्त गरेको छ।

स्वीडेनले भियना महासन्धि पालना नगरेको भन्दै तीन रुसी कूटनीतिज्ञलाई बर्खास्त गरेको बताएको छ। स्वीडेनका विदेशमन्त्री एन लिन्डेले यसको पुष्टि गरेका छन्। रुसले यी कूटनीतिज्ञहरूलाई निष्कासन गरेकोमा कडा आपत्ति जनाएको छ।

पूर्वरुसी राष्ट्रपति तथा सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले रुसले त्यसको बदला लिने बताएका छन्। 

प्रतिक्रिया