सत्ता गठबन्धनद्वारा रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं । सत्ता गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणकोबारेमा ब्रिफिङ गरेका थिए । त्यस्तै देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत अन्तरक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने बैठकले निर्णय गरेको मल्लले जानकारी दिए । समग्रमा प्रधानमन्त्रीको भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ ।

पौडेलको संयोजकत्वमा रहेको समितिमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका नेता देव गुरुङ र वर्षमान पुन सदस्य छन्। यस्तै, नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल र विजय पौडेल तथा जनता समाजवादी पार्टी जसपाका नेता अशोक राई र रेणु यादव रहेका छन्। समितिमा जनमोर्चाका तर्फबाट हिमलाल पुरी रहेका छन्।

प्रतिक्रिया