रुसले बुचा सहरमा ३०० सर्वसाधारणको हत्या गरेको जेलेन्स्कीको आरोप

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले बुचा सहरमा ३०० सर्वसाधारणको हत्या गरेको आरोप लगाएका छन्।

रुसको नियन्त्रणमा रहेको सहर बुचामा रुसी युद्ध अपराधको प्रमाण फेला परेको बताइन्छ। त्यसबारे अनुसन्धान चलिरहेको जेलेन्स्कीले बताए। 

उनले भने, ‘रुसले जे पनि गरेको छ त्यसको अनुसन्धान गरिरहेका छौं। अहिले बुचामा मात्रै तीन सय भन्दा बढी मानिस मारिएका र यातना दिएका समाचारहरू आएका छन्। जब सम्पूर्ण शहरको अनुसन्धान पूरा हुन्छ यो संख्या धेरै ठूलो हुन सक्छ।’

बोरोडियान्का र रूसी सेनाले कब्जा गरेका अन्य शहरहरूमा पीडितहरूको संख्या अझ बढी हुन सक्ने उनले बताए।

अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बुचामा सर्वसाधारणको हत्या गरेको आरोपमा आपराधिक मुद्दा चलाउन आग्रह गरेका छन्।

 उनले भनेका छन्, ‘यो व्यक्ति क्रूर छ। तपाईँहरुले देख्नु भयो बुचामा के भयो, पुटिन युद्ध अपारधी हुन्‘तर मुद्धा चलाउनका लागि हामीले बसै प्रमाणहरु संकलन गर्नुपर्ने हुन्छ।’

रुसी सैनिकले नियोजित रुपमा नै युक्रेनमा बलात्कार, यातना र हत्या गरेको विश्वसनीय सूचना आफूहरुलाई प्राप्त भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

युक्रेनको आग्रहमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता तथा वकिलहरुले युक्रेनका महान्यायाधीवक्ताको कार्यालयको युद्ध अपराध युनिटलाई सहयोग गर्ने छ।

प्रतिक्रिया