श्रीलंकामा ३६ घन्टे राष्ट्रव्यापी कर्फ्यू उल्लंघन गरेको आरोपमा ६०० जनाभन्दा बढी पक्राउ

काठमाडौं– श्रीलंकामा ३६ घन्टे राष्ट्रव्यापी कर्फ्यू उल्लंघन गरेको र सरकार विरोधी र्‍याली आयोजना गर्ने प्रयास गरेको आरोपमा आइतबार देशको पश्चिमी प्रान्तमा ६०० जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ। 

विपक्षी दलका नेता सजिथ प्रेमदासको नेतृत्वमा कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरमा विरोध र्‍याली आयोजना भएको थियो। र्‍यालीको पूर्वनियोजित कार्यक्रमलाई मध्यनजर गर्दै सरकारले साताको अन्त्यमा कर्फ्यू घोषणा गरेको थियो।

प्रेमदासले भने, ‘हामी सरकारले आन्दोलनसँग सम्बन्धित जनताको अधिकार हनन गर्न सार्वजनिक सुरक्षा अध्यादेश जारी गरेकोमा विरोध गरिरहेका छौं।’ 

राष्ट्रपति गोटाबायाले संकटका बीच आपतकालिन र अन्य प्रतिबन्ध लगाउने राजापाक्षेको कदमको विरोध गरिरहेका छन्। विपक्षी सांसदले ‘धडपकड बन्द गर’ र ‘गोटा गो होम’ लेखिएको प्लेकार्ड देखाउँदै कोलम्बोको इन्डिपेन्डेन्स स्क्वायरतर्फ र्‍याली आयोजना गरेका थिए।

विपक्षी सांसद हर्ष डे सिल्भाले भने, ‘हामी श्रीलंकामा प्रजातन्त्र चाहन्छौं, रक्षा गर्नेछौं।’ यो स्क्वायर सन् १९४८ मा श्रीलंकाको स्वतन्त्रताको सम्झनामा निर्माण गरिएको थियो। ‘कोलम्बो पेज’ पत्रिकाको समाचार अनुसार श्रीलंकाको प्रहरीले देशको पश्चिमी प्रान्तमा कर्फ्यू उल्लंघन गरेको आरोपमा ६६४ जनालाई पक्राउ गरेको थियो। 

शनिबार राति १० बजेदेखि आइतबार बिहान ६ बजेसम्म चलेको अभियानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो। कर्फ्यू उल्लंघन गर्नेलाई पक्राउ गर्न देशभर थप सुरक्षाकर्मी परिचालन गरिएको समाचारमा उल्लेख छ।

श्रीलंकामा अप्रिल १ बाट तत्काल लागू हुने गरी आपतकाल लागू गरिएको छ। सरकारले शनिबार साँझ ६ बजेदेखि सोमबार (अप्रिल ४ बिहान ६ बजे)सम्म ३६ घण्टाको कर्फ्यू पनि लगाइएको छ ।

श्रीलंकाको राजनीतिक संकट अझै गहिरो हुँदै गइरहेको छ। स्थानीय पत्रपत्रिकाका अनुसार श्रीलंकाका २६ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा सुम्पिएका छन्। मन्त्रीहरूले सामूहिक राजीनामा गर्नुअघि खेलमन्त्री तथा प्रधानमन्त्रीका छोरा नमल राजपक्षेले राजीनामा गरेका थिए। उनले के कारण राजीनामा गरेका हुन्, यसको जानकारी बाहिर आएको छैन। तर, उनले राजीनामा गरेको १ घण्टापछि अन्य मन्त्रीले पनि राजीनामा पेस गरेको बताइएको छ। 

मन्त्रिमण्डलको राजीनामाको पत्र हाल प्रधानमन्त्रीसँग भएको र आज पत्र राष्ट्रपतिसमक्ष पेस हुनसक्ने सम्भावना छ। स्थानीय पत्रपत्रिकाले केही दिनमा नयाँ मन्त्रिमण्डल गठन हुनसक्ने सम्भावनालाई नकारेका छैनन्।

श्रीलंकामा हाल सोसल मिडियामाथि सरकारले प्रतिबन्ध लगाएको छ। आइतबारदेखि श्रीलंकामा फेसबुक, ट्वीटर, वाट्सएप र इन्स्टाग्रामसहित सबै सामाजिक सञ्जालको सुविधा बन्द छ। इन्टरनेट नियमन गर्ने संस्था नेटब्लक्सले यसको जानकारी दिएको छ। यस्तै, राजधानी कोलम्बोको प्रमुख सडकमा आर्मी तथा प्रहरीको गस्ती बढाइएको छ।

शनिबार राजधानी कोलम्बोमा अत्यावश्यक सामाग्री खरिदका लागि सेनाको निगरानीमा पसलहरू केही छिनका लागि खुला गरिएको थियो।

प्रतिक्रिया