वाइडेन समकक्षी पुटिनसँग डराउँदैनन् : युक्रेनी राष्ट्रपति

काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्ना अमेरिकी समकक्षी जो वाइडेन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नडराउने बताएका छन्।

फक्स न्युजलाई शुक्रबार अन्तर्वार्ता दिने क्रममा जेलेन्स्कीले वाइडेन पुटिनसँग डराउँछन् भन्ने आरोपको खण्डन गर्दै उक्त कुरा बताएका हुन्।

‘मलाईं वाइडेन पुटिनदेखि डराउँदैनन् भन्ने विश्वास किन लाग्छ भने उनी एउटा ठूलो मुलुकका नेता हुन्। म मेरो मुट्ठी कसिरहेको छु। मलाई थाहा छैन तपाईंहरूले यो मान्यतालाई बुझ्नु हुन्छ कि हुँदैन। मैले मुट्ठी कस्नु वा औँलाहरू क्रस गर्नुको अर्थ अमेरिकाका कुनै पनि राष्ट्रपति रुससँग डराउँदैनन् भन्न खोजेको हो,’ उनले भने।

युक्रेन युद्ध सुरु भएदेखि नै अमेरिकी राष्ट्रपति वाइडेनले खुला रूपमा रुसी कार्यको विरोध गर्दै आएका छन्। उनले गएको महिना रुसी राष्ट्रपतिलाई पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका थिए। हालैसालै मात्र पोल्यान्ड भ्रमणका क्रममा वाइडेनले युक्रेनमा गरिरहेको ‘नरसंहार’ र अत्याचारका सन्दर्भमा पुटिनलाई ‘कसाई’ को संज्ञा दिएका थिए।

सम्बोधनका क्रममा वाइडेनले पुटिन शक्तिमा रहन नहुने पनि बताएका थिए। उनले रुसी राष्ट्रपति पुटिनको नजिक रहेका व्यक्तिहरुलाई उनलाई सत्ताबाट हटाउन आग्रहसमेत गरेका थिए।

तर, तत्कालै ह्वाइ हाउस र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले उनको सो आशय सच्याएका थिए। 

रुसबाट युक्रेनमा गरिएको आक्रमणको अन्तर्राष्ट्रिय जगतबाट आलोचना भइरहेको छ। बेलायत, क्यानडा र अमेरिकालगायत मुलुकले जारी गरेका आर्थिक प्रतिबन्धका कारण रुस र त्यहाँका अत्यन्तै धनाढ्य व्यक्तिहरूका अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव परिरहेको छ।

प्रतिक्रिया