पुटिन–जेलेन्स्की सिधा वार्ताका लागि आवश्यक तयारी पूरा : युक्रेनी प्रमुख वार्ताकार

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच सिधा वार्ताका लागि आवश्यक तयारी पूरा गरेको युक्रेनका प्रमुख वार्ताकारले बताएका छन्।

शुक्रबार युक्रेन र रुसका वार्ता टोलीबीच भिडियो लिंकमार्फत् भएको छलफलले दुई देशका राष्ट्रपतिबीचको वार्ताका लागि तयारी गरेको युक्रेनका प्रमुख वार्ताकार डेभिड अर्काखामियाले बताएका हुन्।

वार्ता टोलीले तयार गरेको ड्राफ्टमाथि दुई देशका राष्ट्रपतिले सीधा वार्तामा छलफल गर्न सक्ने अर्काखामियाले बताए। ड्राफ्ट तयार भए पनि विवादका विभिन्न विषयमा छलफल भइरहेको छ।

रुसले क्राइमियाबाहेक युक्रेनले गरेको प्रस्ताव स्वीकार गरेको बताइएको छ। क्राइमिया रुसले सन् २०१४ मा युक्रेनबाट टुक्राएको थियो। रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेदिन्स्कीले शुक्रबारको वार्तापछि क्राइमिया र डोन्बास क्षेत्रलाई लिएर रुसको अडान परिवर्तन नभएको बताएका थिए।

यस्तै, डोन्बास क्षेत्रलाई औपचारिक रुपमा स्वतन्त्र स्वीकार गर्नुपर्ने माग रुसको छ। सो क्षेत्रमा रुसको साथ पाएका विद्रोही समूहको कब्जा छ। तर, युक्रेनले अरुमा सम्झौता गरेपनि पनि आफ्नो भूभागमा कुनै सम्झौता  नगर्ने जनाउँदै आएको छ।

प्रतिक्रिया