युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने रुसको प्रयास : युक्रेनी राष्ट्रपति

काठमाडौं– रुसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कब्जा गर्ने प्रयास गरिरहेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दाबी गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले शनिबार अबेर राति भिडियो सम्बोधनमा गर्दै डोन्बास (पूर्वी क्षेत्र) र युक्रेनको दक्षिणी क्षेत्र कब्जा गर्न खोजिरहेको बताएका हुन्।

‘रुसी सैनिकको उद्देश्य के हो? हाम्रो लक्ष्य के हो? हाम्रो रक्षा गर्नु, हाम्रो स्वतन्त्रताको रक्षा गर्नु, हाम्रो भूमिको रक्षा गर्नु र हाम्रा नागरिकको रक्षा गर्नु’, उनले भनेका छन्।
केही दिनअघि रुसले आफ्नो ध्यान पूर्वी युक्रेनमा रहेको बताएको थियो।

जेलेन्स्कीले सम्बोधनको क्रममा युक्रेनी सैनिकको रक्षात्मक क्षमताको प्रशंसासमेत गरेका छन्।

मारिपोल सहर घेराबन्दीमा रहेर पनि युक्रेनी सुरक्षाकर्मीले रक्षात्मक प्रतिक्रिया दिइरहेको उनले उल्लेख गरेका छन्। रुसले गरेको लगातारको गोलाबारीका कारण मारिपोल सहर लगभग पूर्ण रुपमा ध्वस्त भएको छ।

मारिपोल सहरमा युक्रेनी सुरक्षाकर्मीले प्रदर्शन गरेको रक्षात्मक क्षमताले राजधानी किएभसहितका अरु सहरलाई मनोबलसमेत प्रदान गरेको उनले बताएका छन्। 

यसैबीच रुसले युक्रेनको दक्षिण–पूर्वी क्षेत्रमा हवाई आक्रमण बढाएको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ।

बेलायती रक्षा मन्त्रालयले आफ्नो पछिल्लो गुप्तचर सूचनाका आधारमा रुसले आक्रामक गतिविधि दक्षिण पूर्वी युक्रेनमा केन्द्रित गरेको देखिएको जनाएको हो।

प्रतिक्रिया