भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किँदै छन्। नेपाल फर्किनुअघि प्रधानमन्त्री उत्तर प्रदेशको बनारस जाने छन्।

उनी बिहान ९ बजे नयाँदिल्लीबाट बनारस जाने छन्। त्यहाँ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन्। बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तयारी छ।

प्रधानमन्त्री देउवा बनारसबाट नयाँदिल्ली जाने र त्यसपछि काठमाडौं फर्किने छन्। भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार भारत गएका हुन्।

शनिबार देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। बिहान साढे ११ बजे दुई देशका प्रधानमन्त्रीबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेट भएको हो। 

त्यहाँ उनीहरुले भेटवार्तामा दुई देशका जनताको पारस्परिक हितका लागि द्विपक्षिय सम्बन्धलाई सुदृढ गर्ने बारेमा छलफल गरेका थिए। त्यससँगै नेपाल र भारतबीच विभिन्न क्षेत्रमा भइरहेको सहयोगलाई थप विस्तार गर्ने उपायहरुको बारेमा पनि उनीहरुले विचार आदनप्रदान गरेका थिए।

प्रतिक्रिया