युक्रेनको बुचा शहरमा करिब ३०० व्यक्तिलाई सामूहिक चिहानमा गाडिएको दाबी

काठमाडौं– युक्रेनी सेनाले रुसबाट नियन्त्रण फिर्ता लिएको राजधानी किएभ बाहिरको बुचा शहरमा करिब ३०० व्यक्तिलाई सामूहिक चिहानमा गाडिएको दाबी गरिएको छ। मेयर अनातोली फेडोरुकले युक्रेन–रुस युद्धको बेला मारिएका व्यक्तिहरुलाई सामूहिक चिहानमा गाडिएको दाबी गरेका हुन्।

‘बुचामा हामीले २८० जनालाई सामूहिक चिहानमा गाडिसकेका छौं। धेरै भत्किएका शहरका गल्लीहरु लाशले भरिएको छ,’ उनले भने,‘ यी सबै मानिसहरूलाई टाउकोको पछाडि गोली हानेर मारिएको थियो।’

उनले मृतकहरु महिला तथा पुरुष रहेको र एक १४ वर्षीय बालक रहेको पनि बताए। बुचा शहरमा विगत केही हप्ताहरूमा दुई देशका सेनाबीच भयंकर लडाइँ भएको थियो। यो शहर लगभग एक महिनादेखि रूसी सेनाको कब्जामा थियो।

‘मृत व्यक्तिहरू युक्रेनी नियन्त्रित क्षेत्रमा भाग्न खोजिरहेका थिए। उनीहरूलाई  गोली हानी मारिएको छ,’ उनले भने।

वाशिंगटनको नेशनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर डेभिड डेसरोचेसले नागरिकहरूको जानाजानी हत्या गर्नु युद्ध अपराध रहेको बताए। ‘बुबी ट्र्यापहरू राख्नु र माइनहरू राख्नु युद्धको कानुनको स्पष्ट उल्लंघन हो, साथै नागरिकहरूलाई जानाजानी निशाना बनाइन्छ,’ उनले भने।
 
यसैबीच युक्रेनी सेनाले राजधानीबाट २० किलोमिटर (१२ माईल) पूर्वमा रहेको ब्रोभरी शहरलाई पनि पुनः कब्जामा लिएको मेयर इहोर सापोज्कोले शुक्रबार राति टेलिभिजन सम्बोधनमार्फत् जानकारी दिए।

‘पसलहरू फेरि खुल्दै थिए र बासिन्दाहरू फर्किरहेका थिए। आफ्नो शहरको रक्षा गर्न हामी तयार छौं, ’ उनले थपे।

यता, राजधानी नजिकैको लडाइँ क्षेत्रमा गत महिना बेपत्ता भएका एक प्रख्यात युक्रेनी फोटो पत्रकार शुक्रबार किएभको उत्तरमा रहेको हुता मेजिहिरस्का गाउँमा मृत फेला परेका थिए।

दुई साताअघिदेखि सार्वजनिक रूपमा नदेखिएका उनलाई रुसी सेनाले हत्या गरेको आरोप युक्रेनी राष्ट्रपतिका सहयोगी आन्दे्र यार्माकले दाबी गरेका हुन्।

राष्ट्रपति सहयोगी आन्द्रे यार्माकले टेलिग्राममार्फत् जारी विज्ञप्तिमा बताए, ‘लेविन किएभ क्षेत्रमा मार्च १३ मा युद्ध क्षेत्रबाट हराएका थिए। उनको शव अप्रिल १ मा गुटा मेझिगिर्स्का गाउँनजिकै फेला परेको छ।’

टेलिग्रामको वक्तव्यमा भनिएको छ,‘प्रारम्भिक अनुसन्धानबाट सशस्त्र म्याक्सिम लेविनलाई दुईवटा गोली प्रहार गरी रुसी सशस्त्र बलका सैनिकहरूले मारेका भेटिएको छ।’

युक्रेनले केही दिन पहिले नै युद्धको रिपार्टिङ्ग गर्ने शिलशिलामा लेविनलाई रूसी सेनाले ‘कब्जामा लिई बेपत्ता’ बनाएको बताएको थियो।

प्रतिक्रिया