प्रदर्शनले हिंसात्मक रुप लिएको भोलिपल्ट श्रीलंकामा आपतकालीन अवस्था लागू

काठमाडौं– राष्ट्रपति कार्यालय अगाडि भएको प्रदर्शनले हिंसात्मक रुप लिएको भोलिपल्ट (शुक्रबार) श्रीलंकामा आपतकालीन अवस्था लागू भएको छ।  

कोलम्बोमा बिहीबार रातिको समयमा ५ हजार भन्दा धेरै मानिस सडकमा उत्रिएका थिए। उनीहरुले राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ र्‍याली निकालेका थिए।

राष्ट्रपतिको घरमा चढ्ने प्रयासका बीच प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। त्यसक्रममा प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ। एक जना गम्भीर घाइते भएको जनाइएको छ। 

त्यसपछि सहरमा सेना परिचालन गरिएको छ। अहिले सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्नसक्ने अधिकार दिइएको छ।

ऋणको बोझमा दबिएको २.२ करोड जनसंख्या भएको श्रीलंकाले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। खानेकुराको बढ्दो दाम र यसको कमीका कारण मानिसहरुको अवस्था बेहाल छ। 

अहिले श्रीलंकामा कम्तीमा १२ घण्टा विद्युत कटौती भइरहेको छ। यस्तै, इन्धन, अत्यावश्यक खाद्यान्नसहितका सामग्रीको अभाव भएको छ। यसले सर्वसाधारणमा आक्रोश बढेका बेला सरकारले आपतकालीन अवस्था लागू गरेको हो।

श्रीलंकाको भयानक आर्थिक स्थितिका लागि कोरोना महामारीलाई जिम्मेवार मानिएको छ। यसले उसको पर्यटन क्षेत्रमा नराम्रो असर परेको भनाइ छ। तर, अर्थशास्त्रीहरुले भने सरकारको गलत नीति र लगातारको कर्जा लिएका कारण यस्तो नराम्रो अवस्था उत्पन्न भएको आरोप लगाएका छन्। 
 

प्रतिक्रिया