रुसी सैनिकले डोन्बास क्षेत्र र खार्किभमा आक्रमणको तयारी गरेको हुनसक्ने युक्रेनी राष्ट्रपतिको आशंका

काठमाडौं– देशको उत्तरी क्षेत्रबाट फर्किएर डोन्बास क्षेत्र र खार्किभ शहरमा रुसी सैनिकले शक्तिशाली आक्रमणका लागि तयारी गरेको हुनसक्ने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आशंका व्यक्त गरेका छन्।

शनिबार बिहान जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले उत्तरबाट रुसी सैनिक फर्किने क्रम जारी रहेको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘रुसी सैनिक बिस्तारै फर्किरहेका छन्।’

तर, देशको पूर्वी क्षेत्रमा अहिले पनि सैन्य अवस्था निकै गम्भीर रहेको उनले बताएका छन्।

‘आउँदो दिनमा कठिन युद्धको सामना गर्नु पर्ने छ। हामीले सबै परीक्षाहरु पार गरिसक्यौं भनेर ठान्नु हुँदैन’, उनले भनेका छन् ।

युक्रेनी सैनिकले रुसी सेनाको कब्जामा गएको बुचा बजार, राजधानी किएभको बाहिरी क्षेत्रमा रहेको इर्पिन शहर आफ्नो नियन्त्रणमा लिएका छन्।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणकारीसँग सहकार्य गर्नेहरुलाई अन्तिम चेतावनी दिएका छन् । रुसले कब्जा गरेका शहरमा नेतृत्व गरिरहेकाहरु लामो समय पदमा नरहने बताएका हुन्।
 
उनले भनेका छन्, ‘मेरो सन्देश स्पष्ट छः रुससँग सहकार्य गर्नेहरुको युद्धमा निश्चित छ। भोलि वा पर्सी त्यो दोस्रो कुरा हो। तर न्याय पुनः स्थापित हुनेछ।’

प्रतिक्रिया