युक्रेनले आफ्नो इन्धन भण्डारण डिपोमा आक्रमण गरेको रुसको आरोप

काठमाडौं– युक्रेनले आफ्नो इन्धन भण्डारण डिपोमा आक्रमण गरेको रुसले आरोप लगाएको छ।

युक्रेनको उत्तरी क्षेत्रको सीमा नजिकै रुसी इलाकामा रहेको इन्धन डिपोमा आगलागी भएको रुसी अधिकारीको भनाइ छ।

सामाजिक सञ्जाल ट्वीटरमा सेयर गरिएको भिडियोमा सीमा क्षेत्रबाट करिब ४० किलोमिटरको दूरीमा रहेको बेल्गोरोडस्थित आवासीय भवन नजिकै रहेको डिपोबाट आगोको मुस्लो देखिएको छ।

केही भिडियो क्लिपमा रकेटले इन्धन डिपोलाई प्रहार गर्दै गरेको पनि देखिन्छ। रुसले युक्रेनी हेलिकप्टरमार्फत् आक्रमण गरेको आरोप लगाएका छन्। तर, युक्रेनले यसलाई अस्वीकार गर्दै आएको छ।

‘केही कारणले यो आक्रमणमा हामी संलग्न रहेको उनीहरुले बताइरहेका छन्। तर यो सत्य होइन’, युक्रेनको सुरक्षा परिषदका सचिव ओलेक्सी डानिलोभले भने। युक्रेनका विमानले यसअघि रुसी भूमिमा निशाना बनाएको प्रमाण छैन।

तर, बेल्गोरोडका गर्भनरले भने युक्रेनले आक्रमण गरेको आरोप लगाएका छन्। यस्तै, रुसी रक्षा मन्त्रालयले पनि युक्रेनी एमआइ–२४ हेलिकप्टरले इन्धन डिपोमा मिसाइल आक्रमण गरेको आरोप लगाएको छ।
 

प्रतिक्रिया