प्रदर्शन हिंसात्मक बनेपछि श्रीलंकाको राजधानी कोलम्बोका केही भागहरूमा कर्फ्यू

काठमाडौं– श्रीलंकाको राजधानी कोलम्बोका केही भागहरूमा कर्फ्यू लगाइएको छ। राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा आक्रमण गर्न खोज्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि कर्फ्यू लगाइएको हो।

प्रहरी महानिरीक्षक सीडी विक्रमरत्नेले  कर्फ्यू अर्को सूचना नभएसम्म जारी रहने बताए। दशकौंको सबैभन्दा खराब आर्थिक सङ्कटलाई सरकारले सम्हाल्न नसकेको भन्दै विरोधमा प्रदर्शन हुँदै आएको छ। 

हेल्मेट लगाएका केही प्रदर्शनकारीहरूले गोटाबायाको निवासमा जाने सडकका बसमा आगजनी गरेका थिए। यस्तै, पर्खाल भत्काउने र प्रहरीमाथि इँटा प्रहार गरेका थिए। प्रदर्शनकारीहरुले ‘घर फर्क गोटा र गोटा एक तानाशाह हो’ भन्ने नारा लगाएका थिए। बिहीबारको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले कर्फ्यू  लगाएको हो।

प्रहरी वरिष्ठ उपरीक्षक अमल एडिरिमानेले देशको व्यापारिक राजधानी कोलम्बोका चार प्रहरी डिभिजनमा कर्फ्यू लगाइएको बताए।

सरकारसँग इन्धन आयातका लागि पर्याप्त विदेशी मुद्रा नहुँदा २२ करोड जनसङ्ख्याको टापुले दिनको १३ घण्टासम्म लोडसेडिङ व्यहोरिरहेका छन्। 

सरकारले बिजुली बचत गर्न सडक बत्ती बन्द गरिरहेको ऊर्जामन्त्री पवित्रा वान्नियारच्चीले बताइन्। डिजेलको निरन्तर अभावले थप विद्युत कटौती ल्याएको छ र मुख्य शेयर बजारमा कारोबार रोकिएको छ।

यस्तै. श्रीलंकामा अत्यावश्यक वस्तुहरूको अभाव भएको। श्रीलंकनहरु चर्को मूल्यको सामना गरिरहेका छन्।

गत वर्षको सोही अवधिको तुलनामा मार्चमा खुद्रा मुद्रास्फीति १८.७ प्रतिशत पुगेको तथ्याङ्क विभागले बिहीबार जनाएको छ। यसपटक मार्चमा खाद्य मुद्रास्फीति ३०.२ प्रतिशतमा पुगेको छ। 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आगामी दिनहरूमा सम्भावित ऋण कार्यक्रममा श्रीलंकाका अधिकारीहरूसँग छलफल सुरु गर्नेछ,’ एक प्रवक्ताले बिहीबार भने, ‘सरकारले संकटबाट बाहिर निस्कने बाटो खोजिरहेको छ।’

प्रतिक्रिया