'आचारसंहिता पालनामा दलहरु कत्तिको प्रतिवद्ध छन् भनेर हामीले हेर्ने हो'

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन् भनेर आयोगले हेर्न चाहेको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि आयोगले उनीहरुलाई नै दिएको बताए । उनले सुशासन र सदाचारको कुरा गर्ने राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिताको पालना आफूले गरे/नगरेको आफैंले अनुगमन गर्नुपर्ने पनि बताए ।

थपलियाले सबैले अनुशासित ढंगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेर देखाउने काम गर्नुपर्ने बताए । उनले भने, ‘अब आयोगले कस्तो अनुगमन गर्छ, होइन । उम्मेदवार र राजनीतिक दलले आफ्नो अनुगमन कस्तो गर्दो रहेछन् भन्ने आयोगले चाहिँ हेर्छ । अव तपाईंहरुले हिजो ठड्याउँदै गरेको औंला अव तपाईंहरुतिर गएको छ । अब हामी हेर्न चाहन्छौं–साच्चै नै सुशासन र सदाचारको कुरा गर्ने हाम्रा राजनीतिक दलहरु र उम्मेदवारहरु निर्वाचन आचारसंहिताको पालनामा कत्तिको प्रतिवद्ध छन् भनेर हामीले हेर्ने हो ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनताको मत, अभिमत पैसा र पदले खरिदविक्री गर्न सकिदैन भन्ने मान्यताको आधारमा निर्वाचनमा खर्चको सीमा तोक्ने काम आयोगले गरेको बताए । उनले गाउँपालिकाको अध्यक्षका लागि तोकिएको निर्वाचन खर्चको सीमा नपुग हुने प्रमाण ल्याए आफूहरु त्यसमा पुनरावलोकन गर्न तयार रहेको पनि बताए ।

राजनीतिक दलहरुले निर्वाचन खर्च महंगो भयो भनेर आफैं भन्ने तर त्यसको सीमा तोक्दा विरोध गर्न नमिल्ने तर्क उनले गरे । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन खर्चिलो भए लोकतन्त्रनै खतरामा पर्ने भन्दै त्यसमा मितव्ययिता अपनाउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे । उनले निर्वाचनमा धेरै खर्च भए त्यसबाट निर्वाचित हुने जनप्रतिनिधिहरुले सुशासन नभई त्यसको उल्टो काम गर्नुपर्ने अवस्था आउनेतर्फ पनि स्मरण गराए ।

प्रतिक्रिया