झापड घटनापछि विललाई अस्कर समारोह छोड्न भनिएको थियो, तर अटेर गरे : एकेडेमी

काठमाडौं– अस्कर अवार्ड समारोहमा विल स्मीथले क्रिस रकलाई स्टेगमै हानेको झापडबारे यतिखेर चर्चा छ। अवार्ड प्रस्तुत गर्नका लागि स्टेजमा आएका क्रिसले स्मीथकी श्रीमतीको नाम लिएर व्यंग्य गरेका थिए। त्यसपछि स्मीथ आफ्नो कुर्सीबाट उठेर स्टेजमै पुगेर क्रिसमाथि झापड हानेका थिए।

सुरुमा सबैले यसलाई पूर्वतयारी गरिएको व्यंग्यात्मक प्रस्तुति ठानेका थिए। तर, घटना त्यस्तो नरहेको केहीबेरमै थाहा भएको थियो। क्रिसलाई झापड हानेका स्मीथले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जिते। किङ रिचार्डका लागि उनले अवार्ड जितेका हुन्।

अवार्ड लिने क्रममा उनले क्रिसमाथि प्रहार गरेको झापडका लागि एकेडेमी र अरु मनोनयनमा परेकाहरुसँग माफी मागेका थिए। तर, क्रिससँग भने माफी मागेका थिएनन्। उनले सोमबार अबेर वक्तव्य जारी गरेर आफूले गरेको व्यवहार ‘अस्वीकार्य र माफी अयोग्य’ रहेको उल्लेख गरेका छन्।

वक्तव्यमा उनले भनेका छन्, ‘म उसँग सार्वजनिक रुपमा माफी माग्न चाहन्छु, क्रिस, मैले सीमा नाघेको थिएँ र म गलत थिएँ।’ यता, विललाई घटनापछि त्यहाँबाट जान भनिए पनि उनले नमानेर अटेर गरेर बसेको एकेडेमीले बताएको छ।

आफूहरुबाट पनि घटनाको व्यवस्थापनलाई लिएर कमजोरी भएको एकेडेमीले स्वीकार गरेको छ। विलमाथि अनुशासनको कारबाहीको प्रक्रिया सुरु गरिएको पनि जनाइएको छ।

एकेडेमीले क्रिस र अवार्डका लागि मनोनितहरु तथा दर्शकसँग पनि माफी मागेको छ।
 

प्रतिक्रिया