किएभसहितका दुई शहरमा आक्रमण कम गर्ने रुसको घोषणाप्रति पश्चिमा राष्ट्र पनि सशंकित

काठमाडौं– रुस र युक्रेनबीच मंगलबार टर्कीको राजधानी इस्तानबुलमा भएको शान्ति वार्ताले फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु गरेपछि पहिलो पटक प्रगतिको संकेत देखाएको छ।

रुसले राजधानी किएभ आसपासको क्षेत्र र उत्तरी शहर चेर्निहिभमा सैन्य गतिविधिलाई उल्लेख्य रूपमा घटाउने प्रतिवद्धता जनाएको छ।

तर, रुसको यो प्रतिवद्धताप्रति पश्चिमा राष्ट्रहरू विश्वस्त छैनन् र यसमा शंका व्यक्त गरिरहेका छन्। रुसको यो भनाइप्रति बेलायत र अमेरिकाले होसियार हुन युक्रेनलाई अपिल गरेका छन्।

अमेरिकी राष्ट्रपति जो वाइडेनले युक्रेनलाई सतर्क रहन आग्रह गर्दै भने,‘उनीहरू (युक्रेन)माथि कस्तो कारबाही भइरहेको छ भनी नदेख्दासम्म म यो बयानमा केही देख्दिनँ।’

उनले गरेका वाचा पूरा भए नभएको हेर्नु पर्ने बताए। अर्कोतर्फ, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले के भन्छ र के गर्छ भन्नेमा भिन्नता रहेको बताएका छन्।

तर, कूटनीतिक हिसाबले पनि टर्कीले शान्ति वार्तालाई ‘अर्थपूर्ण प्रगति’तर्फ अघि बढिरहेको बताएको छ। मंगलबार भएको वार्ता तीन घण्टासम्म चलेको थियो।

प्रतिक्रिया