किएभ र चेर्निहिभबारे रुसी प्रतिनिधिको वाचनमा विश्वास गर्न सकिने अवस्था छैन : युक्रेन

काठमाडौं– शान्ति वार्ताका लागि दुई पक्षीय विश्वास बढाउन भन्दै रुसले युक्रेनको राजधानी किएभ आसपासको क्षेत्र र उत्तरी शहर चेर्निहिभमा आक्रमण कम गर्ने बताएको छ।

मंगलबार टर्कीको राजधानी इस्तानाबुलमा भएको युक्रेनी प्रतिनिधिसँग वार्ता गर्दै रुसी प्रतिनिधिले उक्त आश्वासन दिएका हुन्। यद्यपि, रुसी  प्रतिनिधिले दुई शहरमा आक्रमण कम गर्ने बताए पनि त्यो कति कम वा कस्तो आक्रमण हुने छैन भन्ने खुलाएका छैनन्।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गरेयता पहिलोपटक शान्ति वार्तामा देखिने गरी केही सकारात्मक परिवर्तन भएको मानिएको छ। तर, रुसीको नाटकीयलाई लिएर युक्रेन भने शसंकित छ। युक्रेनको सेनाले रुसको यो घोषणाप्रति अविश्वास प्रकट गरेको छ। 

युक्रेनी जनरल स्टाफले एक विज्ञप्तिमा भने,‘रूसी सेनाहरू पूर्वी युक्रेनमा आफ्ना प्रयासहरू केन्द्रित गर्न पुन: संगठित भइरहेको संकेतहरू छन्। एकै समयमा, तथाकथित सेना फिर्ता लिनु सम्भवतः व्यक्तिगत एकाइहरूको परिक्रमा हो र यो युक्रेनी सैन्य नेतृत्वलाई भ्रमित गर्ने उद्देश्य हो।’

यता, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि रुसी प्रतिनिधिको वाचनमा विश्वास गर्न सकिने अवस्था नरहेको बताएका छन्। उनले मंगलबार जारी गरेको भिडियो सन्देशमा भनेका छन्, ‘हामीले संकेत सकारात्मक देखिएको भन्न सक्छौं, तर ती संकेतको अर्थ रुसी बिस्फोट र गोलाबारी रोकिन्छ भन्ने होइन।’

राजधानी किएभको उत्तर–पश्चिममा रुसले गम्भीर धक्का बेहोरेको छ। त्यससैले रुसले आफ्नो आक्रमण हाल युक्रेनको पूर्वी क्षेत्रमा केन्द्रीत गरेको बताइन्छ।इस्तानबुलमा मंगलबार युक्रेन र रुसका अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको थियो। त्यसबारे विस्तृत जानकारी आएको छैन। तर, रुसी प्रतिनिधिले वार्ता निकै फलदायी भएको बताएका छन्। वार्तामा नयाँ प्रस्ताव राखिएको र त्यसको समीक्षा गरिने उनीहरुले बताएका छन्। 

अर्कोतर्फ युक्रेनी प्रतिनिधिमण्डलले युद्धविराममा कुनै सहमति नभइसकेको र धेरै मुद्दा अझै समाधान नभएको बताएका छन्। युक्रेनी प्रतिनिधिहरूले क्रिमिया वार्ताको छुट्टै भाग हुने बताएका छन्। आगामी दुई साताभित्र थप वार्ताका लागि प्रतिनिधिहरु भेट्ने सहमति भएको छ।

प्रतिक्रिया