ईयुका चार देशले दिए रुसका ४३ कूटनीतिकलाई देश छोड्न आदेश

काठमाडौं– युरोपियन युनियन (ईयु)का चार देशले जासुसीका आरोपमा रुसका ४० जनाभन्दा बढी कूटनीतिकलाई देश छोड्न आदेश दिएका छन्।

 आयरल्याण्ड, बेल्जियम, नेदरल्याड्स र चेक गणतन्त्रले मंगलबार रुसी दूतावासमा कार्यरत कुल ४३ जना कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका हुन्।

बेल्जियमकी विदेशमन्त्री सोफी विल्मेसले राष्ट्रिय सुरक्षालाई ध्यानमा राखेर ब्रसेल्समा रहेका २१ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिइएको सांसद्हरुलाई बताएकी छन्।

बेल्जियमको छिमेकी देश नेदरल्याण्ड्सको विदेश मन्त्रायले आफ्नो देशबाट १७ रुसी कूटनीतिज्ञ निष्काशित भएको जनाएको छ। आयरल्याण्डले चार तथा चेक गणतन्त्रले एक रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको छ।

यसअघि ईयु राष्ट्र पोल्याण्डले ४५ जना रुसी कूटनीतिज्ञलाई निष्काशन गरेको थियो। यस्तै, मार्चको सुरुमा बुल्गेरिया, लिथुवानिया, लात्भिया र इस्टोनियाले कुल २० रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।

रुसले निष्काशनको जवाफ सोही प्रकृतिको निष्काशनबाट दिने गरेको छ। मंगलबार उसले इस्टोनिया, लात्भिया र लिथुवानियाका कुल १० कूटनीतिज्ञलाई निकाला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुसले गएको २४ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ। त्यसयता पश्चिमा राष्ट्रले प्रतिबन्ध तथा रुसी कूटनीतिज्ञलाई निकाला गर्दै आएका छन्।

प्रतिक्रिया