त्रिवि सेवा आयोगका उच्च अधिकारी नै भ्रष्टाचारी ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयका तत्कालिन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार प्रा.डा टेकनाथ ढकालसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएकामा सहप्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने, इन्दिरा घिमिरे, त्रिवि सेवा आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे छन् ।

उनीहरुविरुद्ध तीन महिनादेखि एक वर्षसम्म र पाँच हजारदेखि दस हजार रुपैयाँ जरिवानाको मागदाबी सति मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

सेवा आयोगले २०७३ सालमा लिएको उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत, प्राविधिक अधिकृत, मुख्य प्राविधिक सहायक, लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक पदको लिखित परीक्षा लिएको थियो ।

त्यो परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाएर उत्तरपुस्तिका परीक्षण गरेको आरोप आयोगलाई लागेको थियो । गलत मनसाय राखी जम्मा प्राप्ताङ्क हेरफेर गरेको, मेरिट सूची फेरबदल गरेको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ।

आयोगका अनुसार, लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने, रुजु, सम्परीक्षणमा संलग्नहरुविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, परीक्षण गर्ने सह–प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । आयोगको दाबीमा, तिनले अन्य व्यक्तिलाई गैरकानूनी लाभ पु¥याउने बदनियतले परीक्षाको परिणाममा फेरबदल गरेको पुष्टि हुन आएको छ ।

त्रि.वि. सेवा आयोगले २०७३ फागुन १८ मा उपप्रशासक, पुस्तकालय अधिकृत, प्राविधिक अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीक्षाका निम्ति विज्ञापन प्रकाशन गरेको थियो । लिखित परीक्षामा परीक्षकहरुले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गर्ने कार्य गरेको, उक्त गलत कार्यलाई सम्परीक्षकले सदर गरेको र रुजु गर्ने व्यक्तिले समेत रुजु गरी सच्याउने कार्य नगरेबाट लिखित परीक्षाको उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्य गरेको अभियोग लगाएको छ ।

प्रतिक्रिया