रुससँग प्रत्यक्ष वार्ता गर्न टर्की पुग्यो युक्रेनी टोली

काठमाडौं– रुससँग वार्ताका लागि युक्रेनी टोली टर्कीको राजधानी स्तानबुल पुगेको छ। युक्रेन र रुसको वार्ता टोलीबीच मंगलबार स्तानबुलमा वार्ता हुँदैछ।

करिब दुई हप्तापछि युक्रेन र रुसको टोलीबीच पहिलोपटक भौतिक उपस्थितिमा वार्ता हुन लागेको हो। युक्रेनी वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेज्निकोभले गरेका छन्। यस्तै, राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोल्याक पनि वार्ता टोलीमा छन्।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानको आतिथ्यतामा वार्ता हुन लागेको हो। वार्तामा रुसले युक्रेनसँग नेटोमा सामेल हुने मनसाय त्याग्न माग गर्ने बताइएको छ। 

यस्तै, वार्तामा रुसी समर्थन पाएका पृथकतावादीको कब्जामा रहेको क्राइमियासहितका स्थानलाई औपचारिक रुपमा विभाजिन भएको घोषणा गर्न रुसले माग गर्दै आएको छ। त्यसबारे पनि दुई देशबीच छलफल हुने जनाइएको छ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्।

तर, त्यसका लागि जनमत संग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनले बताएका छन्। रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ। त्यसयता दुई देशबीच पटकपटक वार्ता भएपनि ठोस सहमति हुन सकेको छैन।

प्रतिक्रिया