तेल निर्यातसहित रुसमाथि कडा प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः युक्रेनी राष्ट्रपतिको अपिल

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तेल निर्यातसहित रुसमाथि कडा खालको प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग पुनः अपिल गरेका छन्। 

आफ्ना नियमित रात्रिकालीन भिडियो सन्देशको क्रममा सोमबार जेलेन्स्कीले रुसमाथि पश्चिमा राष्ट्रले निष्क्रिय प्रकृतिका प्रतिबन्ध लगाएको भन्दै आलोचना गरेका छन्।

‘ठूलो युद्ध सुरु भइसकेको छ। त्यहाँ धेरै संकेत र चेतावनी आएका थिए कि कडा प्रतिबन्ध लगाउनु पर्ने थियो। विश्व शक्ति राष्ट्रले पहिले नै कडा प्रतिबन्ध लगाएको भए युक्रेनमाथि रुसको आक्रमण रोकिने थियो’, उनले सात मिनेट लामो सन्देशमा भनेका छन्।

उनले कुनै पनि जवाफका लागि विश्वले रुसको आक्रमण वा क्रियाको प्रतिक्षा गर्न नमिल्ने बताएका छन्। सम्भावित गम्भीर अवस्था आउन नदिनका लागि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको तर्क छ।

यो हप्ता विश्वका विभिन्न देशका संसदलाई सम्बोधन गर्ने र हतियार सहयोगका लागि आग्रह गर्ने पनि जेलेन्स्कीले बताएका छन्। गतहप्ता मात्रै उनले पश्चिमाहरुसँग लडाकु विमान, ट्यांक तथा मिसाइल डिफेन्स सिस्टम मागेका थिए। 

उनले नेटोका एक प्रतिशत लडाकु विमान र एक प्रतिशत ट्यांक युक्रेनलाई चाहिएको बताउँदै आएका छन्। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ।
 

प्रतिक्रिया