रुसी अर्बपति रोमन अब्रामोविचमाथि ‘विषाक्त’ आक्रमण भएको आशंका

काठमाडौं– रुसी अर्बपति तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन अब्रामोविचमाथि विषाक्त आक्रमण भएको आशंक गरिएको छ। 

यो महिनाको सुरुमा युक्रेन–बेलारुसको सीमा क्षेत्रमा भएको शान्ति वार्ताको क्रममा उनीमाथि विषाक्ता आक्रमण भएको हुनसक्ने स्रोतहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रोमनको अवस्था अहिले सुधार भएको छ। सम्भावित विषाक्त आक्रमणका कारण उनको आँखा सुन्निएको तथा छालाको रंग पहेँलो भएको बताइएको छ।

युक्रेनको वार्ता टोलीमा रहेका दुई जनालाई पनि सोही प्रकारको समस्या देखिएको समाचारमा उल्लेख छ। वार्तालाई असफल पार्न चाहने रुसी ‘हार्डलाइनर’ हरुले विषाक्त आक्रमण गरेको हुन सक्ने बताइएको छ।

विषाक्त आक्रमणको आरोप सार्वजनिक भए लगत्तै नाम नबताउने शर्तमा एक रुसी अधिकारीले समाचार संस्था रोयटर्ससँग उनीहरुमाथि विषाक्ता आक्रमण नभएको दाबी गरेका छन्।

त्यस्तो लक्षण वातावरणीय कारणले भएको उनले बताएका छन्। युक्रेनी राष्ट्रपति कार्यालयका अधिकारीले आफ्नो वार्ता टोलीका सदस्यहरु ठिक रहेको र विषाक्त आक्रमणको कुरामा सत्यता नरहेको दाबी गरेका छन्।

रोमनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकाे नजिकको सहयोगि मानिन्छ। रुस-युक्रेन विवादले युद्दकाे रुप लिँदा रुसी राष्ट्रपति पुटिनकाे पक्षमा खुलेका उनलाई बेलायत सरकारले निशाना बनाएकाे छ। उनले चेल्सी फुटबल क्लब बेच्न नपाउने गरी प्रतिबन्ध लगाएको छ। 

यस्तै, बेलायत सरकारले उनका व्यवसाय तथा उनीमाथि नै पनि यात्रा प्रतिबन्ध लगाएको छ।
 

प्रतिक्रिया