" पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा शक्तिशाली आयोग बनाएर भ्रष्टाचारको छानविन हुनुपर्छ" नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विधि, पद्धति र विचारलाई उपेक्षा गर्दा समग्र देशको राजनीति तस्कर, नव धनाढ्य र भ्रष्टहरुको हातमा जाने परिस्थिति उत्पन्न भएको बताएका छन् ।

दृश्यटिभीसँगको वार्तालापका क्रममा कांग्रेस केन्द्रिय सदस्य केसीले चारैतिर भ्रष्टाचारको दुन्दुभी बजिरहँदा पनि कार्वाहीको कुनै पहल नगरिएकोमा चिन्ता व्यक्त गरे ।

‘वाइडबडी, ३३ किलो सुन, बुढी गण्डकी, यति र ओम्नीदेखि सेक्यूरीटी प्रेससम्मका भ्रष्टाचारको विरोधमा कांग्रेसले देशव्यापी आवाज उठाएकै हो’, नेता केसीले भने, ‘माधव नेपाल र पुष्पकमल दाहालले यो विषय उठाएकै हुन् । बाबुराम भट्टराईले आफुसँग प्रमाण नै भएको दाबी गरेका हुन् । तर किन यसमाथि कार्वाही भइरहेको छैन रु’

नेता केसीले पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा एउटा शक्तिशाली आयोग बनाएर यी यावत भ्रष्टाचारका मुद्दा उपर निष्पक्ष छानबिन र कार्वाही हुनेपर्ने माग पनि गरेका छन् ।

नेता केसीले विधि र पद्धतिलाई उपेक्षा गरेर सडक आन्दोलन र दबाबबाट प्रधान न्यायाधिश चोलेन्द्र शमसेर राणालाई हटाउनु शोभनिय नहुने धारणा पनि राखेका छन् ।

बिगतमा गोपाल पराजुली कर्मचारीको पत्रकै भरमा र सुशीला कार्कीलाई रातारात महाअभियोग लगाउने तयारी गरेर हटाउँदा सर्वोच्च अदालतको गरिमा र हैसियत खुम्चीएको स्मरण गर्दै उनले आफु स्वतन्त्र न्यायालयको पक्षमा दृढ रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पहिलो र दोश्रो पुस्ताबीचको समन्वयका आधारमा नेतृत्व चयन गर्दैै पुस्ता समावेशीकरण हुनुपर्ने धारणा राख्दै नेता केसीले अहिले नेतृत्व हस्तान्तरण भन्दा पनि नेतृत्व रुपान्तरणको खाँचो रहेको  औंल्याए । 

अहिले नेतृत्वका दावेदारहरुभन्दा आफु कुनै हिसाबले कम नरहेको तर सबैलाई मिलाएर सहमतिका आधारमा नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको बताउँदै उनले सहमति हुन सकेन र सबै आपसमा भिड्ने अवस्था आएमा आफु पनि उम्मेदवारी दिनबाट पछि नहट्ने स्पष्ट पारे ।

नेता केसीले कांग्रेसको नेतृत्व कुनै विरासतका आधारमा नभइ वीरताका आधारमा चयन हुनुपर्ने बताए । उनले आफ्ना प्रतिश्पर्धी टिममा असल मानिस छन् भने उनीहरुले जित्नुपर्ने र आफ्नो टिममा रहेकै भए पनि खराबले चाहिँ हार्नुपर्ने आफ्नो जोड रहेको पनि खुलाए ।

 

नेता केसीसँगको विस्तृत वार्तालाप यो भिडियोमा हेर्न सकिनेछ- https://youtu.be/M-YM0G1bdrE

प्रतिक्रिया