ओस्कार अवार्ड : ‘ड्राइभ माई कार’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म, ट्रोय कोट्सर उत्कृष्ट सह-अभिनेता

काठमाडौं– ९४औं एकेडेमी अवार्ड (अस्कर)मा ‘ड्राइभ माई कार’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म बनेको छ। सोमबार अमेरिकाको लस एन्जेल्सस्थित डल्बी थिएटरमा भएको कार्यक्रममा उक्त जापानी फिल्मलाई अवार्ड दिइएको हो।

यस विधामा विभिन्न देशका ५ फिल्महरु समावेश थिए। जापानी फिल्म ‘ड्राइभ माइ कार’ सँगै भुटानी फिल्म ‘लुनानाः अ याक इन द क्लाररुम’, ‘इटालियन फिल्म द ह्याण्ड अफ गड’, डेनिस फिल्म ‘फ्लि’ र नर्वेजियन फिल्म ‘द वर्सट पर्सन इन द वल्र्ड’ उक्त विधामा मनोनित भएका थिए। यीमध्येबाट ‘ड्राइभ माई कार’ उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म बनेको हो। 

समारोहमा केनेथ ब्रानाघले फिल्म ‘बेलफास्ट’मार्फत् उत्कृष्ट मौलिक पटकथाको पुरस्कार जितेका छन्। यता, ‘द लङ गुडबाय’ ले लाइभ एक्सन सर्ट फिल्मको लागि अवार्ड पाएको छ। जेनी बेवनले ‘क्रुएला’ मार्फत् उत्कृष्ट पोशाक डिजाइनको लागि ओस्कर प्राप्त गरेका छन्।

त्यस्तै, एरियाना डिबोसले ‘वेस्ट साइड स्टोरी’का लागि बेस्ट सपोर्टिङ विधाको अवार्ड प्राप्त गरिन्। फिल्म ‘कोडा’का लागि सहायक भूमिकाका लागि ट्रोय कोट्सरले उत्कृष्ट अभिनेताको अवार्ड जितेका छन्। ५३ वर्षीय कोटसारको यो पहिलो ओस्कार हो। 

अवार्ड ग्रहण गर्दै उनले साङ्केतिक भाषामा दर्शकहरुसँग कुरा गरेका थिए। उनले यो अवार्ड कोडा समुदायलाई समर्पित गरेका छन्।

‘ड्युन’ लाई ११ विधामा ६ अवार्ड 
ड्युन फिल्मले अहिलेसम्म ६ ओस्कार जितेको छ। यसले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर, उत्कृष्ट उत्पादन डिजाइन, उत्कृष्ट ध्वनि, उत्कृष्ट भिजुअल इफेक्ट र उत्कृष्ट छायांकनकर्ताको अवार्ड जितेको हो।

यो वर्ष जेन क्याम्पियनको बेनेडिक्ट कम्बरब्याच स्टारर फिल्म ‘द पावर अफ द डग’ ले सबैभन्दा बढी मनोनयन प्राप्त गरेको छ। चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता र उत्कृष्ट निर्देशक गरी कुल १२ विधामा मनोनयनमा परेको थियो। 

दोस्रो नम्बरमा डेनिस भिलेन्युभको निर्देशनमा बनेको ‘ड्युन’ रहेको छ। यो फिल्म १० विधामा मनोनयनमा परेको छ। यीबाहेक विल स्मिथ अभिनित ‘किंग रिचर्ड’, स्टिभन स्पिलबर्गको निर्देशनमा बनेको ‘वेस्ट साइड स्टोरी’, गुएर्मो डेल टोरोको ‘नाइटमेयर एली’, ‘कोडा’, ‘डोन्ट लुक अप’ र ‘बेलफास्ट’ जस्ता फिल्मलाई पनि मनोनयनमा परेका छन्।
 

प्रतिक्रिया