रुस युक्रेनलाई उत्तर र दक्षिण कोरिया जस्तै विभाजित गर्न चाहन्छ : युक्रेनी मिलिटरी इन्टेलिजेन्स

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्रलाई देशका अरु भागबाट विभाजित गर्न प्रयास गरिरहेको युक्रेनी मिलिटरी इन्टेलिजेन्सका प्रमुखले बताएका छन्।

युक्रेनी मिलिटरी इन्टेलिजेन्सका प्रमुख किरिलो बुडानोभले एक विज्ञप्ति जारी गर्दै पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउने प्रयास गरिरहेको बताएका हुन्।

उनले भनेका छन्,‘रूस उत्तर र दक्षिण कोरिया जस्तै युक्रेनलाई विभाजित गर्न चाहन्छ।’ उनले युक्रेनले चाँडै रुसको कब्जामा रहेको क्षेत्रमा छापामार युद्ध सुरु गर्न लागेको पनि दाबी गरेका छन्। 

गएको २४ फेब्रुअरीदेखि रुसले युक्रेनमा आक्रमण गर्दै आएको छ। रुसी आक्रमणका कारण सर्वसाधारण नागरिक निशानामा आएका छन्। रुसी सेनाले राजधानी किएभलाई घेराबन्दी गरेको भए पनि पछिल्ला केही दिनदेखि अगाडि बढ्न सकेको छैन।

रुसी समर्थित लडाकुहरूले पूर्वी युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरू आफ्नो नियन्त्रणमा लिएका छन्। रूसले तिनीहरूलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएको छ। उक्त क्षेत्रलाई मान्यता दिने रुस एक मात्र देश हो।

यसैबीच, रुसले जबरजस्ती दक्षिण तटीय शहर मारिपोलको पूर्वी क्षेत्रमा रहेको बेजिमेन्नमा अस्थायी शिविर बनाएर करिब पाँच हजार मानिसलाई उनीहरुको इच्छा विपरित राखेको जनाइएको छ।

रुसी गोलाबारीका कारण मारिपोल शहर ध्वस्त भएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अझै पनि करिब एक लाख मानिस मारिपोलमा फसेको बताएका छन्। रुसी सैनिकले आवासीय क्षेत्र, सार्वजनिक स्थल, सर्वसाधारणले आश्रय लिएका स्थानमा समेत गोलाबारी गरेको युक्रेनी अधिकारीको दाबी छ।

प्रतिक्रिया