तटस्थ रणनीतिबारे रुससँग छलफल गर्न युक्रेनी राष्ट्रपति तयार

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तटस्थ रणनीतिबारे रुससँग छलफल गर्न तयार रहेको बताएका छन्। उनले वार्तामा आफ्नो प्राथमिकता सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता रहने बताएका छन्।

युक्रेन र रुसबीच आउँदो हप्ता टर्कीमा वार्ता हुँदैछ। युक्रेन र रुसबीच विभिन्न चरणमा पटकपटक वार्ता भइसकेको छ। चौथो चरणको वार्तामा रुस केही लचिलो हुने संकेत देखिएको युक्रेनी अधिकारीहरुले बताएका थिए। यसअघिको वार्तामा युद्ध विरामका लागि रुसले केही सर्त अघि सारेको थियो। 

जेलेन्स्कीले युक्रेनको सुरक्षाको प्रभावकारी प्रत्याभुति वार्ताको प्रमुख मुद्दा हुने बताएका छन्। ‘पक्कै पनि हाम्रो उद्देश्य शान्ति र हाम्रो देशमा फेरि पनि सामान्य जीवनमा फर्किनु हो,’ उनले भनेका छन्,‘सम्भव भएसम्म चाँडो।’

यसअघि पनि जेलेन्स्कीले एक रुसी सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा युद्ध अन्त्यका लागि युक्रेन तटस्थ राष्ट्रका रुपमा रहनेबारे छलफल गर्न सकिने बताएका थिए ।

रुसले युक्रेन कसैको पक्षमा हुन नहुने माग गर्दै आएको छ। तर, सो तटस्थ अवस्था तेस्रो पक्षबाट प्रत्याभूत गरिएको र जनमतसंग्रहबाट निर्णय लिइएको हुनु पर्ने जेलेन्सकीले बताएका थिए।

यता, मिडिया रिपोर्टका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा युक्रेनको राजधानी किएभमा ४०० भन्दा बढी भाडाका सैनिकहरू खटिएका छन्।

उनीहरुलाई युक्रेनी राष्ट्रपति जेलेन्स्की, उनको क्याबिनेटका केही सदस्यहरू र पूर्व बक्सिङ च्याम्पियन क्लिचगोको हत्या गर्न खटाइएको हो। 

युक्रेनले विगतमा पनि रुससँग सम्बन्धित निजी सेना देशको पूर्वी भागमा सक्रिय रहेको आरोप लगाउँदै आएको छ। यस निजी सेनाको नाम वाग्नर ग्रुप हो। 

प्रतिक्रिया