युक्रेनसँगको युद्ध अन्त्य गर्न अन्य देशले रुससँग वार्ता गर्नुपर्छ : टर्की

काठमाडौं– टर्कीका राष्ट्रपतिका प्रवक्ता इब्राहिम कालिनले युक्रेनसँगको युद्ध अन्त्य गर्न अन्य देशले रुससँग वार्ता गर्नुपर्ने बताएका छन्।

उनले युक्रेनलाई आत्मरक्षाका लागि अझै थप सहयोग आवश्यक रहेको बताए। नाटो सदस्य टर्कीको रुस र युक्रेनसँग राम्रो सम्बन्ध छ। टर्कीले दुई देशबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार प्रवक्ता कालिनले आइतबार दोहा इन्टरनेशनल फोरममा भने, ‘यदि सबैले रुससँग सम्बन्ध तोड्छन् भने कसले उनीसँग कुरा गर्ने?,’ उनले भने,‘युक्रेनलाई आफ्नो रक्षा गर्न सबै सम्भावित रूपमा मद्दत चाहिन्छ। तर, रुसको पक्ष पनि कुनै न कुनै रूपमा सुन्नु आवश्यक छ। रुसको गुनासो जायज नभए पनि कम्तिमा उसले सुन्नुपर्छ।’

टर्कीले युक्रेनमा रुसको आक्रमणलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएको छ। टर्कीले रुसमाथिको प्रतिबन्धलाई सैद्धान्तिक रूपमा समर्थन गरेको छैन। त्यसैले टर्कीले रुसमाथि अहिलेसम्म कुनै प्रतिबन्ध लगाएका छैन।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमबाट थप ट्याङ्क, लडाकु विमान र मिसाइलहरू माग गरेका छन्। युक्रेनमा भएको आक्रमणलाई लिएर पश्चिमा राष्ट्रहरूले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्।

प्रतिक्रिया