निर्वाचन आयोगद्वारा ६७६ निर्वाचन अधिकृत नियुक्त

काठमाडौं– निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो। आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुने गरी न्यायाधीशलगायत ६७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ। 

निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यालयले नै व्यहोरा अवगत गरी खटाई पठाइदिनसमेत आयोगले निर्देशन दिएको छ।

आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा छनोट भएकालाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गर्ने छ। यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौंडा, बुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ।

स्थानीय तह निर्वाचनका लागि न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय सेवाका कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गर्ने व्यवस्था छ।

स्थानीय तह निर्वाचनका हकमा न्यायाधीश र न्याय सेवाका राजपत्राङ्कित अधिकृतलाई मात्र नियुक्ति गर्न नसकिएमा निजामती सेवाभित्रका अन्य सेवाका अधिकृतलाई समेत निर्वाचन अधिकृतमा खटाउन सकिने छ। निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुनेछ।

निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो  क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी दिइएको हुन्छ।

प्रतिक्रिया